वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए-३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ । चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । “हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ”, उनले भने । मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ । कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए । उनले भने, “चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।” यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताए । यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष सोमबार काठमाडौं आएकाले तद विषयमा छलफल हुने उनले बताए । हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक गत माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए। चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ८०० भन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका थिए । उनले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताए । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् । रासस
नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार सिम निःशुल्क वितरण
काठमाडौं । दूर संचार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको रोजाई बढ्दै गएको हो । नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ भने फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदाएक पनि हो ।
सिभिल बैंकको नाफा ३१ करोड, निक्षेप बढेर ५२ अर्ब पुग्याे
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ६ अर्बले बढेर ५० अर्ब रुपैयाँ पुगेको छ । गत आवको दोश्रो त्रैमाससम्ममा बैंकले ४४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । त्यस्तै, बैंककाे खुद व्याज आम्दानी एक अर्ब १९ करोड रुपैयाँ र संचालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको पुँजी प्रयाप्तता घटेर १५.९२ प्रतिशत, निष्कृय कर्जा(एनपीएल) घटेर २.६९ प्रतिशत, सीसीडी रेसियो घटेर ७७.४६ प्रतिशत र बेस रेट(आधार दर) घटेर १०.९८ प्रतिशतमा रहेको छ ।
नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वाचित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वाचित भएका म्यानले जानकारी दिएको छ ।
बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन आइतबारदेखि सुरु
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो । रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो । साथै माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो । ३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेको छ । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो साथै बाल सहभागितामूलक नाटक पनि हो । नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् । करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सदभावमा पुगेर टुंगिन्छ । हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् । उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन् । त्यस कार्यक्रममा सबैले आफ्नो बारेमा विभिन्न प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन् । कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन् । नाटक ‘करेसा कन्सर्ट’बारे निर्देशकका कुरा नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरुले आफ्नो महत्व र विशेषताहरुबारे चर्चा त गर्छ नै । त्यसका साथै ती तरकारी पात्रहरुमार्फत नेपाली समाजको बेमेल, रुढी, भेलभाव, वैमन्स्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटक सँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ । नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो । बालनाटक हुन विषयवस्तु र प्रस्तुति पनि बालबालिका केन्द्रित हुनु जरुरी छ । यसर्थ यो नाटक बाल सहभागितामूलक नाटक त हो नै साँच्चिकै बालनाटक पनि बनाउने प्रयत्न गरेको छु । यस कथा १० वर्ष अघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको मेरो पुस्तक प्रकाशित गर्दै नेपालका अधिकांश सामुदायिक विद्यालयको पुस्तकालयसम्म पु¥याइरहेको छ । ३० हजारभन्दा बढी प्रति प्रकाशित यसको हाल चौथो संस्करण प्रकाशित छ । यसै पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो । सोही पुस्तकको मूल कथा लिएर नाटक ‘करेसा कन्सर्ट’ लेखेको हुँ ।
डोटी जिल्लाभरि फोरजी सेवा विस्तार, सम्पूर्ण तयारी अन्तिम चरणमा
डाेटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा केही हप्ता पहिले फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले पछिल्लो समय जिल्लाभरिमा विस्तार गर्न लागेको हो । फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमको राजपुर कार्यालयले जिल्लाका विभिन्न स्थानमा राखिएका टेलिकमका बिटिएस टावरमा फोरजी सेवाका उपकरण जडानको कामलाई तीव्रता दिएको छ । जिल्लाभरिमा फोरजी सेवा विस्तारका लागि टेलिकमले बिटिएस टावर जडान गर्न थालेको छ । यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिकाका विभिन्न स्थानमा पहिलो चरणमा फोरजी एर्लटी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार उक्त गाउँपालिकाको रावतकट्टे, सिलिङ्गीबाग, भाडी, गड्सेरा, खतेडालगायतका ठाउँमा एकैसाथ उक्त सेवा सुचारु गरिएको हो । टेलिकमले यसअघि बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा सञ्चालन गरे पनि पछिल्लो समय जिल्लामा सबै स्थानीयतहमा यो सेवा विस्तार गरिरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । उनले भने, ‘हामीले जिल्लाका शहरी क्षेत्रसँगै स्थानीय तहमा पनि फोरजी सेवा विस्तार गरिरहेका छौँ, क्रमिक रुपमा जिल्लाभरिमै फोरजी सेवा विस्तार हुनेछ ।’ टेलिकमले पहिलो चरणमा जिल्लाको जोरायल गाउँपालिकाको प्रमुख स्थानमा फोरजी सेवा शुरु गरेपछि अहिले त्यहाँका स्थानीयवासी निकै खुशी भएको स्थानीयवासी तथा युवा नेता चित्रराज भट्टले बताए । उनले भने, ‘टेलिकमले फोरजी सेवा सञ्चालन गरेर राम्रो काम गरेको छ, फोरजी सेवा विस्तार भएपछि स्थानीयलाई विभिन्न सन्देशमूलक समाचार पढ्न र हेर्न सजलो भएको छ ।’ अन्य इन्टरनेटभन्दा फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले अनुमान गरेको छ । यो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक इन्द्रबहादुर कठायतले बताएका छन् । जिल्लाका अन्य मुख्य शहर पिपल्ला, राजपुर, सिलगढी, कुल्पातेमा टेलिकमले दशैँ अगाडि फोरजी सेवा विस्तार गरे पनि जोरायलमा भने अहिले आएर आफ्नो फोरजी सेवा विस्तार गरेको हो । त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा फोरजी सेवा विस्तारको लागि तयारी गरिरहेको जनाएको छ । सुदूरपश्चिममा अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडान हुने कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए । अन्य इन्टरनेट सेवाभन्दा फोरजी सेवा छिटो र छरितो भएकाले यसको सेवा शुल्कमा केही वृद्धि हुनसक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । गाउँपालिकामा फोरजी सेवा विस्तार भएपछि अहिले गाउँपालिकामा भएका सूचनालगायतका समाचारमूलक खबर आदानप्रदान गर्नमा निकै सहुलियत भएको जोरायल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृच तेजबहादुर खत्रीले बताए ।रासस
प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुँदै, सडकमै खाने र सडकमै रमाउने
काठमाडाैं । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौं सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिनेछ । महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिए । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायत कार्यक्रम हुनेछन् । प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । रासस
क्लिन अप नेपालद्वारा देशव्यापी अभियान पुरस्कार वितरण
काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागि नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए । उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताताहरुलाई पुरस्कृत गर्न गरिएको थियो । समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिककोको बारेमा पनि प्रकाश पारिएको थियो । नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो विजयी नाटकलाई स्टेजमा बिमोचन पनि गरिएकाे थियो । सोही समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि भू.पू. मन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिनुका साथै आगामी दिनमा सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस अभियानका सहयोगी दाता लक्ष्मी बैँक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी थिए । लक्ष्मी बैँक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरु हून् । यस देशव्यापी अभियान, वर्ष २०६९ मा सरसफाई अभियानबाट सुरु गरिएको थियो र हाल सम्म यस अभियानको पहूँच अनुमानित १ लाख ६२ हजार सर्वसाधारण माझ पुगिसकेको छ ।साथसाथै यस अभियानबाट ४५ जिल्लाहरुमा रहेको १ हजार १ सय १ संकलन बिन्दुबाट करिब ६ लाख ५५ हजार किलो फोहोर संकलन गरिएको छ । यस अभियानका लागि क्लिन अप नेपालले करिब ३ सय सरोकारवालाहरुसँग साझेदारी र सहकार्य गरिसकेको छ ।