विकासन्युज

हिमपातका कारण उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ । विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्याल बताउँछन् । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ । रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् । मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमिन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ । रासस

घडेरी किन्दै हुनुहुन्छ ? यी १० कुरा बुझेर मात्रै किन्नुस्

काठमाडौं । शहरी क्षेत्रमा एउटा आफ्नै घर होस् भन्ने चाहना आम नेपालीको छ । घर हुनको लागि पहिला जग्गा चाहिन्छ । काठमाडौं उपत्यकासहित देशभरको शहरी क्षेत्रमा एउटा घडेरी किन्न कम्तिमा पनि ५० लाख रुपैयाँको हाराहारीमा रकम चाहिन्छ । मध्यम वर्गीय, कामकाजी वा पेशाकर्मी नेपालीले ५० लाख रुपैयाँ जुटाउने भनेको करिब जिन्दगीभरको कमाईबाट मात्रै हो । विदेश गएर कमाएको, आफैले राम्रो नोकरी गरेको छ भने त्यसबाट आउने तलबबाट नियमति किस्ता तिर्ने गरी ऋण लिए वा बन्द व्यापारबाट गरेको कमाई लगानी गरेर मात्रै घडेरी किन्न सकिन्छ । यति धेरै रकम लगानी गरेर किनेको घडेरीमा विवाद आयो भने जिन्दगीभरको कमाईमा समस्या आउँछ । झन् पछिल्लो समयमा चर्चामा आएको बालुवाटारको ललिता निवासको जस्तै गरी सरकारी वा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता गरिएको रहेछ र आफूले किनेपछि सो प्रकरण सार्वजनिक भयो भने झन् फसाद पर्छ नै । बालुवाटारको ललिता निवास जग्गा प्रकरण हेर्ने हो भने मालपोतमा गएर हेर्दा जग्गा ठीक छ । नापीमा गएर हेर्दा त्यहाँ पनि दुरुस्त छ । त्यस्तो जग्गा पाएपछि कसैले पनि किर्ते, जालसाँझी वा माफियागिरी गरेर सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको ठहर्याउन सक्दैन । किनभने जग्गा किन्ने बेलामा हेर्ने भनेको नक्सा र फिल्ड हो । त्यसपछि थप बुझ्ने भनेको मालपोत र नापी कार्यालयमै हो । नापी र मालपोतमै भएको कागजात पनि नक्कली रहेछन् भने ‘भाग्यको खेल’ ठानेर जिन्दगीभर पछुताउनुको विकल्प हुन्न । तपाईं हामीले सरकारी राजस्व तिरेर किनेको जग्गामा विवाद आयो भने त्यसको जवाफदेही जग्गा बेच्ने व्यक्ति नै हुन्छ । अहिलेको कानुनी व्यवस्था अनुसार मालपोत कार्यालय भनेको जग्गा किनबेचको साक्षी मात्रै हो । कुनै प्रकारको विवाद भयो वा समस्या आयो भने मालपोत कार्यालयले कानुनी रुपमा केही सहयोग गर्दैन, गर्न सक्दैन । मालपोत कार्यालय जग्गाको लिखत पारित गर्ने साक्षीको रुपमा मात्रै रहने गरेको छ । नेपालमा एउटा भनाई नै छ–‘जपछि झ आउँछ, ज भनेको जग्गा हो भने त्यसपछि आउने झले झगडा निम्त्याउँछ ।’ त्यसैले मालपोत कार्यालयहरुले जग्गा लिने दिने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु सार्वजनिक गर्ने गरेका हुन्छन् । कुनै प्रकारको समस्या भएको जग्गालाई मालपोतका कर्मचारीहरु ‘दुषित जग्गा’ भन्छन् । दुषित जग्गामा झ अर्थात झगडा पक्कापक्की नै हुन्छ । त्यसैले दुषित जग्गा पहिचान गर्ने तथा जग्गा लिनु वा दिनुअघि ध्यान दिनुपर्ने १० टिप्स यस्ता छन्ः १. स्वामित्व हस्तान्तरण हुने वा स्वामित्व प्राप्त गर्ने जग्गाको प्रमाणपूर्जा तथा नक्साअनुसार फिल्ड मिले नमिलेको यकिन गर्ने । २. फिल्डमा नक्सा अनुसारको क्षेत्रफल पूरा छ छैन बुझ्ने । ३. जग्गाको भोग सम्बन्धमा स्पष्ट हुने । ४. सडक, बाटो सम्बन्धमा नक्सा र फिल्डबारे स्पष्ट गर्ने । ५. लिनेदिने मूल्य सम्बन्धमा स्वयम् लिने दिनेले नै यकिन गर्ने । ६. रोक्का तथा जग्गा खिचलो बारेमा स्वयम् लिने दिने स्पष्ट हुने । ७. रैकर, गुठी अधिनस्त आदि जग्गाको प्रकार बारेमा इकिन गर्ने । ८. अंशियार, हकवाला, मोहीको सम्बन्धमा बुझी लिखतमा साक्षी राख्नुपर्ने अवस्थामा लिखत पारित गर्दा नै साक्षी राख्ने व्यवस्था गर्ने । ९. घर÷टहरा भएकोमा सो स्वामित्व हस्तान्तरण हुने भएमा लिखतमा खुलाउनु पर्ने । १०. लिखत रजिष्ट्रेसन भैसकेपछि संशोधन गर्न नमिल्ने हुँदा पारित हुनु अगाडि नै स्वामित्व प्राप्त गर्नेले सो अचल सम्पत्तिको कानुनी हैसियत सम्बन्धमा यकिन गरी मात्र पारित गर्ने ।

बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल (बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ गर्ने भएको छ । संस्थाले आगामी फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशप गर्न लागेको हो । शुभलक्ष्मी भवनको चौथो तलामा हुन लागेको उक्त वर्कशपमा वोर्डप्रेस, नेटवोर्किङ् र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण गराइने छ । सम्बन्धित विषयका प्रतिष्ठित शिक्षकहरुद्वारा प्रशिक्षण दिइने सो वर्कशपमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआईएम) पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् । दुबै दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपमा नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ एक/एक दिन र वोर्डप्रेस दुबै दिन हुने कार्यक्रम रहेको छ । तीन घण्टा हुने कार्यक्रममा पहिलो दिन वोर्डप्रेस र नेटवोर्किङ् बारे प्रशिक्षण दिइने छ भने दोश्रो दिन वोर्डप्रेस र डिजिटल मार्केटिङ सम्बन्धि प्रशिक्षण दिइने बिमानका अध्यक्ष सुरज भट्टराई-असराजले जानकारी दिएका छन् । काठमाडौंमा बिआईएम पढिरहेका विद्यार्थी जो वोर्डप्रेस, नेटवोर्किङ् तथा डिजिटल मार्केटिङ मध्ये कुनै एकमा आफ्नो करीयर बनाउन चाहन्छन्, तर यसबारे अझै पनि अनविज्ञ छन्, उनीहरुलाई नै विषेश लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष भट्टराईले बताए । यसमार्फत उनीहरुलाई उक्त विषयबारे नयाँ नयाँ कुरा सिकानु साथै नबुझेका कन्सेप्ट तथा जिज्ञासाहरुलाई प्रष्ट बनाइदिनु कार्यक्रमको उद्देश्य रहेको उनले जनाए । कार्यक्रममा सहभागि हुनको लागि बिमानको फेसबुक पेजमार्फत तथा संस्थाका कार्यसमितिहरुसँग सम्पर्क गरेर वर्कशपको बारेमा थप जानकारी लिन सक्नेछन् । साथै, उनीहरुले आ-आफ्नो कलेज डिपार्टमेन्टसँग सम्पर्क गरी वर्कशपमा सहभागि हुन सक्ने छन् । त्यस्तै, मूख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेकाे यस कार्यक्रमको भेन्यू पार्टनरमा मेजेस्टी फाउन्डेशन रहेको छ भने मिडिया पार्टनरमा अनलाईन आर्थिक समाचार पोर्टल विकासन्युज डटकम रहेको छ । बिमानको बारेमाः ‘अ यूनियन फर सोलुसन’ भन्ने मूल नाराका साथ खोलिएको एक गैरनाफामूलक सामाजिक संस्था हो, बिमान। जुन, त्रिभुवन विश्वविद्यालयबाट ‘स्नातकतह सूचना व्यवस्थापन(ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट)’ पढिरहेका विद्यार्थीहरुलाई एकजुट गराउने उद्देश्यले गठन भएको हो । के के छन् उद्देश्य ? -बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुबीच अझ बलियो सम्बन्ध कायम राख्ने, -‘बिआईएम स्टडी नोटस्’ बाट भैरहेको विद्याथीहरुलाई समयमा पढाई सम्बन्धी सामग्रीहरु उपलब्ध गराउने, -अन्य शैक्षिक एवम् व्यवसायीक संघसंस्थासँग सम्बन्ध राख्ने, -बिआईएम पढिरहेका विद्यार्थीहरलाई इन्टर्न, प्रोजेक्ट तथा अन्य कार्यमा आउन सक्ने समस्यालाई समाधान गरिदिने, -बिआईएम शिक्षाको विकासको लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, -बिआईएम अध्ययन गरिरहेका विद्याथीहरुलाई प्रविधिसँगसँगै सामाजिक कार्यमा पनि संलग्न गराउने ।

बालबालिकामा कोरोनाको प्रभाव न्यून, किन रहन्छन् सुरक्षित ?

काठमाडौं । कोभिड १९ (नोबल कोरोनाभाइरस) को कारण मंगलबार बिहानसम्म २ हजार ७ सय मानिसको मृत्य भएको छ । दुई महिनाअघि चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिलो पटक देखापरेको कोभिड १९ को कारण ३६ देशका ८० हजार १ सय ३० लाई संक्रमित भइसकेका छन् । यसमा सबैभन्दा बढी ७७ हजार ६ सय ५८ संक्रमितको संख्या चीनको रहेको छ । यस्तै मृत्यु हुने संख्यामा २ हजार ६ सय ६३ जना चीनकै छन् । गत फागुन ७ गते चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिड १९ (नोबल कोरोना भाईरस) लागेको ७० हजार मानिसको विवरणको आधारमा अध्ययन सार्वजनिक गर्याे । उक्त अध्ययन अनुसार हालसम्म कोरोना भाईरसको कारण जन्मेदेखि ९ वर्ष उमेरसम्मका बालबालिकाको मृत्यु भएको छैन । यस्तै, १० देखि ३९ वर्षसम्मको उमेर समुहको मृत्युदर ०.०२ प्रतिशत छ । विश्वभर ७७ हजार मानिसमा संक्रमण भई २ हजार ७ सय मानिसको मुत्यु हुँदा ९ वर्षसम्मको एक बालबालिकाको पनि मृत्यु भएको छैन । बालबालिकामा कोरोनाको प्रभाव किन कम देखिरहेको छ भन्ने कुनै यकिन तथ्य भने सार्वजनिक भएको छैन । तर, वयस्कहरुको तुलनामा बालबालिकाहरुमा फरक किसिमको रोग प्रतिरोधात्मक क्षमता एक कारण हुनसक्ने विज्ञहरु बताउँछन् । कोरोना भाईरसको परिवारको रुपमा रहेको सार्स, मर्स जस्ता संक्रमणको असर पनि बालबालिकामा कम देखिएको छ । सार्स र मर्सको बढी प्रभाव सन् २०१२ तिर बढी देखिएको थियो । यद्यपि, यसको मतलब बालबालिकामा कोरोना भाईरसको सक्रमण बालबालिकामा हुदैन भन्ने होइन । बालबालिकामा पनि कोरोना भाईरसको संक्रमणका कारण निमोनियको लक्षण देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले विज्ञलाई उदृत गर्दै समाचार सम्प्रेषण गरेका छन् । तर, बलियो रोग प्रतिरोधात्मक क्षमताको कारण कोरोनाले वयस्कलाई जस्तो बालबालिकालाई प्रभाव पार्न सकेको छैन । बालबालिकाको दाँजोमा २५ गुणा बढी वयस्कको ठेउला (चिकेन पक्स) को कारण मुत्यु हुने गरेको छ । यस्तै, सिजनल फ्लुको कारण बालबालिकाको दाँजोमा वयस्कको मृत्यूदर १० गुणा बढी रहेको विज्ञ बताउँछन् । श्वासप्रश्वासका रोगहरुसँग बालबालिका पनि वयस्क जत्तिकै प्रभावित हुन्छन् । तर, बालबालिका वयस्कको दाँजोमा सजिलै निको हुने विज्ञहरु बताउँछन् । विज्ञका अनुसार वयस्कको तुलनामा बालबालिका धुलो, धुवाँ र धुम्रपानसँग कम सम्पर्कमा हुने भएकोले उनीहरुको श्वासप्रश्वास प्रणाली स्वस्थ हुन्छ र यो उनीहरुको रोगसँग लड्न सक्ने एक कारण हो । यस्तै, बालबालिकामा दीर्घ रोग कम हुन्छ । यो कारण पनि बालबालिका यस्ता संक्रमणबाट जोगिने गरेका छन् । सन् २०१२ र २०१३ मा सार्स र मर्सले पनि मोटोपन, चिनी रोग, मुटुरोग जस्ता दीर्घकालिन रोग लागेका वयस्कहरुलाई बढी प्रभाव पारेको थियो । हरेक वर्ष फ्लुको कारण ६५ वर्षभन्दा बढी उमेर समुहका मानिसको मृत्युदर धेरै हुने गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ सिमेन्टले ७ वटा जिल्लामा गर्यो अन्तर्क्रिया कार्यक्रम

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले निर्माण सहकर्मीसँग वृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुर उपत्यकामा गरिएको थियो । सो कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तर्क्रिया गरिएको थियो । सोही अवसरमा विभिन्न कार्यक्रमहरु अन्तर्गत उपस्थित सहकर्मीहरु बीच अन्तरक्रियामा सहभागिताको अधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो । काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप-प्रमूख भवानी डोटेल तथा वडा सदस्यहरुबीच उक्त कार्यक्रम भएको थियो । जसमा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालबाट मन्तव्य राख्दै सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यान दिँदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरिय हुनु पर्नेमा जोड दिएका थिए ।

निसानको फेस्टिभ ड्राइभको विजेता घोषित, १५ जनाले पाए सुनदेखि विदेश घुम्ने मौका

काठमाडौं । नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले फेस्टिभ ड्राइभ उपहार योजनाको विजेता घोषणा गरेको छ । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने १५ जना लक्की ड्र द्वारा विजेता भएका छन् । जसमध्ये १० जना भाग्यशाली विजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जनाले १० ग्राम सुनको सिक्का पाएका छन् । कम्पनीले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स-ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफपनि नेपालमा भित्राउने तयारी गरिरहेको छ ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले हस्ताक्षर गरेका हुन् । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए । समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुने छन् ।

मुक्तिनाथ विकास बैंकले ल्यायो दुई कर्जा योजना, के के छन् सुविधा ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकले घर पुँजी कर्जा र सरल व्यवसायिक कर्जा नामक दुई नयाँ योजना ल्याएको छ । बैंकले १५ वर्षको लागि उक्त योजना सञ्चालनमा ल्याएको हो । बैंकले अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी घर पूँजी कर्जा सञ्चालनमा ल्याएको हो । आवासीय प्रयोजनका लागि ल्याएको यस कर्जा योजनामा आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व-लगानीमा डेब्ट लेभेरेज लिने गरी इक्विटी फाइनान्सिङ गरिने सुविधा रहेको छ । साथै, बैंकले विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पुँजी स्व-लगानीमा फाइनान्सियल लेभेरेज लिने गरी मुक्तिनाथ सरल व्यवसायिक कर्जा ल्याएको हो । बैंकले उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालु पुँजी आवश्यकता पूरा गर्न यो योजना ल्याएको हो । साथै, दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीको लागि पनि यो कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।