विकासन्युज

भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ – उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमारनाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमाना बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । “भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो”, मन्त्री पोखरेलको भनाइ छ । उनले भने, “भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।” भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन भारतले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको बताए । विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ । उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिए । विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उनको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पारे । उनले भने, “सरकार नागरिकको अभिभावक पनि हो । आवश्यक पर्दा विषम परिस्थितिमा विषम निर्णय पनि लिन्छ । त्यसका लागि सरकार तयार छ ।” उनले निजी अस्पताल र मेडिकल कलेजले समेत सरकारलाई साथ दिने र सहयोग गर्ने बताएको र एकाधले केही कमजोरी गरेको भए पनि सरकारको आग्रहलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे । लकडाउनको समयमा सबै नेपाली नागरिक इमान्दार भएर घर तथा आफ्नै निवासमा रहेर देश र आफ्नैसमेत सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले विपद् समग्र मानव सभ्यता र संस्कृतिविरुद्धको प्रहार भएकाले यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी तथा श्रमिक वर्गका लागि विशेष राहत प्याकेज ल्याएको र त्यसको व्यावहारिक कार्यान्वयन गरिने भएकाले त्यस्ता व्यक्ति वा वर्गलाई नआत्तिनसमेत उपप्रधानमन्त्रीले आग्रह गरे । स्थानीय तहले नै कम आय भएका, ज्यालादारी तथा श्रमिक चिन्ने भएकाले विधिअनुसार नै उनीहरुले राहत पाउने र सरकारले उपलब्ध गराउने दृढता व्यक्त गरे । उपप्रधानमन्त्रीले सरकारले गरेका हरेक निर्णय नेपाल र नेपाली जनताको हितलाई केन्दमा राखेर भएकाले कुनै दुविधा नराख्न र गलत मनसाय राख्नेले चलाएको हल्लामा नलाग्नसमेत आग्रह गरेका छन् । रासस

सेलवेज ग्रुपले कोरोना रोकथामको लागि दियो २५ लाख रुपैयाँ

काठमाडौं । सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको सेलवेज ग्रुपले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो । कम्पनीले विगत २९ वर्ष देखि अनवरत रूपमा सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको छ ।

विदेशबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई ५ हजार

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर संक्रमण नफैलियोस् भनि लकडाउन पछि उक्त निर्णय गरेकाे गाँउपालिकाका सूचना अधिकारी विशाल बाबु लिफङ राईले बताए । उनले भने – ‘विदेशबाट आइ लुकेर बसेका व्यक्तिको बारेमा पहिलाे पटक वडा कार्यालय तथा पालिकामा जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ  प्रदान गरिनेछ ।’ काेराेनाकाे संक्रमण फैलिए नदिन थुलुङ दुधकोशी गाँउपालिकाले अपनाएकाे याे उदाहरणीय तथा नयाँ उपायकाे रूपमा विस्तार भएकाे छ । उक्त गाँउपालिकाले पछिल्लो समय सबै मानिस गाँउ फर्किएसँगै करेसाबारी निर्माण तथा विस्तारलाई जोड दिएको जानकारी दिएको छ । सरकारले घोषणा गरेको सबै नियमको पालना गर्दै गाँउ गाँउका मान्छेबीच जमघट तथा भेला नहुन दिएकाे छैन । नाैं वडा रहेको उक्त गाँउपालिका १ सय ८० वटा करेन्टाइन र ५ वटा आइसोलेशन वेड रहेको सूचना अधिकारी राईले जानकारी दिए । हालसम्म उक्त पालिकामा भारत तथा दुवईबाट आएका ७ जना व्यक्ति होम करेन्टाइनमा बसिरहेको स्वास्थ्य अवस्था सामान्य रहेको गाँउपालिकाले जनाएको छ ।

एनएमबि बैंकले सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने

काठमाडौं । एनएमबि बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने भएको छ । बैंकले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका सरकारले स्थापना गरेको कोरोना सहायता कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । जसको लागि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले बताएकाे छ । दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु नै यस पहलको उद्देश्य रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको बैंकले जनाएको छ ।

कोरोना रोकथामको लागि कृषि विकास बैंकले प्रदेश १ लाई दियो ५ लाख रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकले कोरोना भाईरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि १ नम्बर प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो रकम सहयोग गरेको हो । कृषि विकास बैंकका  १ नं. प्रदेशका प्रमुख घनेन्द्र अधिकारीले  मुख्यमन्त्री शेरधन राईलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा खडा गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । साथै  बैंकले लक डाउनको समयमा चैत १८ गतेदेखि २५ गतेसम्म देशभर खुल्ला रहने आफ्ना कार्यालयहरुको सूचि सार्वजनिक गरेको छ ।  बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर दैनिक ७० वटा भन्दा बढी शाखा सञ्चालन गर्ने जनाएको छ  । चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६ वटा कार्यालय खुल्नेछन् । चैत २१ गते देशभरका ७३ वटा शाखा खुल्नेछ  २२ गते ८० वटा शाखा खुल्ने छ । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा खुल्ला  रहने बैंकका  प्रवक्ता हिमलाल पौडेलले बताए  । बैंकले सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ उपयोग गर्न अनुरोध गरेको छ । बैंकले लकडानको समयमा  शाखा खोलेर निक्षेप राख्ने र झिक्ने बैंकिङ सेवा  प्रदान गरिरहेको छ ।

स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिने विरुद्ध सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने

काठमाडौं । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार खेम कार्कीले यदि घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने बताएका हुन् । उनले भने, ‘सुरुमा राम्रोसँग सम्झाउनु, बुझाउनुपर्छ। सम्झाउँदा अनि बुझाउँदा पनि भएन भने स्थानीय प्रशासनमा उजुरी दिनुपर्छ।’ काेराेनाकाे त्रासले सिन्धुलीमा घरबेटीले बस्न नदिएपछि २२ जना स्वास्थ्यकर्मी सिन्धुली अस्पतालमै बस्न बाध्य भएको खबर बाहिर आएकाे थियाे । एक घरबेटीलाई भने पुलिसले पक्डिसकेकाे छ ।

१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति अनलाइन पत्रकार संघकाे आपत्ति

काठमाडाैं । नेपाल अनलाइन पत्रकार संघले नेपाल प्रेस काउन्सिलले १७ वटा अनलाइन बन्द गरेकाे कार्यप्रति आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले यस कार्यप्रति आपत्ति जनाएकाे हाे । केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती संचार माध्यमलाई नेपालभर प्रकाशनरप्रशारण हुन नसक्ने गरी बन्द गराउन दूर सञ्चार प्राधिकरणमा पत्राचार गर्ने निर्णय गरेको थियो । तर, संघले काउन्सिलको यो निर्णयबाट आश्चर्यचकित भएको भन्दै काउन्सिललाई संविधान पढ्न सुझाव दिएको छ । ‘यो निर्याण गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भए पनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो भन्ने थाहा हुने अनलाइन पत्रकार संघलाई लागेको छ’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । संघका अध्यक्ष शिव प्रसाद सत्यालले सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य नभएकाे बताएका छन् । कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्ने उनकाे भनाइ छ।

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई होटलमा राखिने

काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएका जानकारी दिएका हुन् । उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको हो। तर नेपालमै फैलिए उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई हामीले सुबिधा सम्पन्न होटलमा राख्ने तयारी गर्दैछौं।’