सेयर बजारमा ४ अर्ब ४९ करोडको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०३ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको २४ करोड, नेसनल हाइड्रोको १६ करोड १६ लाख, एपीआई पावर कम्पनीको १६ करोड र बुंगल हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज केस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १४.८१ प्रतिशतले बढेका छन् । शुक्रबारको कारोबारमा १२ समूहका सूचक बढेका छन् भने एउटाको सूचक घटेको छ । बैंकिङ ०.६१ प्रतिशत, डेभलपमेन्ट ०.३९ प्रतिशत, फाइनान्स ०.२८ प्रतिशत, होटल तथा टुरिजम ०.७५ प्रतिशत, हाइड्रोपावर १.२९ र इन्भेष्टमेन्ट ०.४३ प्रतिशतले बढेका छन् ।
वरिष्ठ उपाध्यक्षको दौडबाट हेमराज ढकाल ‘ब्याक’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (आज) ढकालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै अब वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । यसैबीच कोषाध्यक्ष पदका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यससँगै महासंघको निर्वाचन समीकरणमा नयाँ मोड आएको छ । अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमलाई दबाब परेको छ । श्रेष्ठ टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान चुनावी मैदानमा छन् । त्यस्तै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षको समर्थन वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई र कोषाध्यक्ष उम्मेदवार अम्बिका प्रसाद पौडेललाई रहेको स्रोत बताउँछ ।
तालिम गर्दागर्दै बेहोस भएका सशस्त्र प्रहरीलाई काठमाडौं ल्याइयो
काठमाडौं । नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम गर्ने क्रममा ८ जना सशस्त्र प्रहरी बेहोस भएका छन् । शुक्रबार कैलालीको टीकापुरस्थित तालिम गर्दा उनीहरू बेहोस भएका हुन् । बेहोस भएका ६ जना जवानलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । २ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसो पौने २ बजे नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको डीएसपी थापाले बताए । नियमित तालिमको अभ्यास गर्ने क्रममा गर्मीका कारण बेहोस भएको हुनसक्ने उनको भनाइ छ ।
पर्वतको कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी
पर्वत । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो । \ खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा आवश्यक अध्ययन, अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानका रूपमा पहिचान गरेर योजना अघि बढाइएको गाउँपालिकाले कार्यालयले जनाएको छ । एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने, नजिकबाट तारामण्डल र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमालगायत आकाशीय पिण्डबारे अध्ययन, अवलोकन तथा जानकारी प्रदान गर्न सकिने भएकाले यो ठाउँ खगोल अध्ययन केन्द्र स्थापनाका लागि उयुक्त रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पालिकाका जनप्रतिनिधि र विज्ञसहितको टोलीले भारतको नैनीतालस्थित खगोल अध्ययन केन्द्र अवलोकनपछि कालाञ्जरको योजना अघि बढाएको हो । केन्द्र स्थापनाका लागि योजना निर्माण गरी सङ्घीय सरकारको राष्ट्रिय योजना आयोग, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा पेस गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय समावेश भई बजेट विनियोजन भएमा शीघ्र काम अघि बढाइने उनले बताए । उक्त केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह, नक्षत्र, तारापुञ्ज तथा आकाशीय घटनाबारे प्रत्यक्ष अवलोकन र अध्ययन गर्न सहज हुनेछ । कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण तथा स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए । प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रम सञ्चालन गरिने तयारी छ । स्थानीय टीका पुनले केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा परिचित बन्नसक्ने उनको भनाइ छ । सरोकार भएका निकायका अनुसार केन्द्र स्थापनासम्बन्धी आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक चरणमा आधुनिक टेलिस्कोप जडान, सौर्यमण्डलको संरचनासम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थीलाई लक्षित विज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । सुरुआती चरणमा यहाँ पुग्ने अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि पालिकाले करिब एक करोड रुपैयाँ खर्च गरेर आवास निर्माण गरिसकेको छ भने हेलिप्याड, सडकमार्ग तयार भइसकेको जलजला गाउँपलिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । यहाँ खगोल अध्ययन केन्द्र स्थापनापछि विद्यार्थीले पुस्तकमा मात्र पढ्ने ग्रह, तारा, चन्द्रमा, सूर्यलगायत विषयकाबारेमा प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले विज्ञानप्रतिको रुचि बढ्ने भएको छ भने खगोल तथा अन्तरिक्ष विज्ञानबारे अनुसन्धान र अध्ययन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ । विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा सहयोग पुग्नुका साथै विज्ञान र प्रविधिप्रति युवापुस्ताको आकर्षण बढेर नयाँ आविष्कार र अनुसन्धानतर्फ प्रेरणा मिल्ने स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिए । यसैगरी, कालाञ्जर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै होटल, यातायात, स्थानीय व्यापार तथा रोजगारीका अवसर वृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ । धार्मिक र प्राकृतिक पर्यटनसँगै ‘विज्ञान पर्यटन’ का रूपमा नयाँ पहिचान स्थापित हुनसक्ने भएकाले गाउँपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष आचार्यले जानकारी दिए । कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडौँ लगानी गरिसकेका छन् । जलजलामा रहेको समथर भू(भागमा कृत्रिम ताल निर्माणको योजना अघि बढाइएको छ । रासस
नेपाल-भारत सीमामा सशस्त्र प्रहरीको ‘हाई अलर्ट’
काठमाडौं । नेपाल-भारत सीमामा सशस्त्र प्रहरी हाई अलर्ट भएको छ । नेपाल-भारत खुला सीमाबाट अनाधिकृत रुपमा विदेशी नागरिकको प्रवेश हुने आशंकामा प्रहरीले निगरानी बढाएको हो । पछिल्लो समय छिमेकी मुलुकमा क्षेत्रीय तनाव बढेपछि नेपालको खुला सीमाबाट अवैध नागरिकको नेपाल प्रवेश हुने आशंकामा सशस्त्र प्रहरी सजग भएको हो । सुरक्षाको उच्च जोखिम रहेको भन्दै सीमामा कडाइ गरिएको प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले बताए । सार्वजनिक रुपमा बाहिर आएजस्तो अवैध रुपमा कुनै पनि विदेशी नागरिक नभित्रिएको उनको भनाइ छ । 'विशेष सुत्र प्रयोग गरेका छौं । कुनै पनि मुलुकका नागरिक अवैध तरिकाले नेपाल भित्रिएका छैनन्,’ उनले भने, 'खुला सीमामा प्रहरीले सचेत भएर निगरानी बढाएको छ । अवैध नागरिक भित्रिन्छन् भनेर सजगसमेत छौं।' खुला सीमा भएका जिल्लामा प्रहरी अर्लट भएर सुरक्षा प्रदान गरिरहेको भट्टले बताए । अवैध नागरिक र गतिविधि नहोस् भनेर प्रहरी पूर्ण रुपमा सचेत रहेको उनको भनाइ छ । अवैध घुसपैठ रोक्न २४सै घण्टा पेट्रोलिङलाई तीव्र पारिएको सशस्त्र प्रहरीका उनले बताए । सीमामा आवतजावत गर्नेहरूको परिचयपत्र जाँच, अभिलेख राख्ने र शङ्कास्पद स्थानहरूमा सूक्ष्म निगरानीलाई कडाइ गरिएको उनले सुनाए। भारतफर्तको सीमामा २४९ बीओपी रहेको उनले जानकारी दिए । एक प्लाटुनमा २० देखि ३० जना सुरक्षाकर्मी रहेको भट्टले जानकारी दिए । प्रवक्ता भट्टले वीरगञ्ज, जोगबनी, सुनौली, नेपालगञ्ज र रुपैडिया लगायतका ठूल्ठूला नाकामा ६०/७० जना प्रहरीहरू परिचालन गरिएको जानकारी दिए । सीमा सुरक्षामा भने सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । भन्सार र सीमामा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ । त्यसैगरी, भन्सार सम्बन्धी प्रचलित ऐन अनुसार कानुनबमोजिम काम गरिरहेको उनले बताए । व्यापारिक प्रयोजनका लागि सामान आयात गर्नेलाई कडाइ गरिएको उनले बताए । सर्वसाधारण नागरिकलाई सामान आयात गर्दा सीमामा बाहिर आएजसरी कडाइ नगरिएको उनले उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी, कोषाध्यक्षमा पौडेल र प्रधान भिड्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि तीनजनाको मात्रै उम्मेदवारी परेको छ । शुक्रबार (आज) भइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र संघाईले उम्मेदवारी दिएका हुन् । यसअघि वरिष्ठ उपाध्यक्ष पदका लागि भरतराज आचार्य र किशोर प्रधान पनि आकांक्षी देखिए पनि अन्तिममा उनीहरूले उम्मेदवारी दिएनन् । यस्तै, कोषाध्यक्ष पदका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ । कोषाध्यक्षका लागि अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधान प्रतिस्पर्धामा रहेका छन् । यसअघि भक्तबहादुर हमालले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा उनी पछि हटे । वरिष्ठ उपाध्यक्षका उम्मेदवार वैद्य र कोषाध्यक्षका उम्मेदवार प्रधानलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सहयोग गर्नेछन् । यस्तै, हेमराज ढकाललाई निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले सहयोग गर्नेछन् । साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघाई र कोषाध्यक्षका उम्मेदवार पौडेललाई एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले अघि सारेका हुन् । महासंघको विधानअनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।
बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम आयोगबाट यही जेठ १४ गते बिहीबारका दिन बकर इद (इद-उल-अज्हा) परेको व्यहोरा जानकारी प्राप्त हुन आएको उल्लेख गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । सरकारद्वारा विसं २०८२ माघ १८ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद पर्ने दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो । सरकारले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामनासमेत व्यक्त गरेको छ ।
एमाले सचिवालय बैठक आज पनि, कार्यविभाजनलाई अन्तिम रूप दिइँदै
काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार (आज) पनि अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसिरहेको छ । बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको बैठकमा सहभागी एक नेताले बताए । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल गरी आवश्यक हेरफेरसहित अन्तिम निर्णय गरिने एमाले स्रोतले जनाएको छ । निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत सम्बन्धित नेताहरूलाई पठाइने तयारी गरिएको छ । गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न एमालेको ११औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो । त्यसपछि फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो । यसपटकको कार्यविभाजनमा पार्टीका महत्वपूर्ण विभागहरूमा नयाँ जिम्मेवारी प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसंगठन विभाग तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । त्यस्तै, उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागहरूको समन्वय र अनुगमनको जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावअन्तर्गत विशेष जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।