कांग्रेस एकतावद्ध राख्ने प्रयास असफल भयो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यसमा को दोषी वा निर्दोषी भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने बताएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीभित्र देखिएका अन्तरविरोध, षड्यन्त्र र कमजोरीका बाबजुद कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नु अपरिहार्य रहेको धारणा राखेका छन् । बिहीबार सार्वजनिक गरिएको आफ्नो भनाइमा डा. कोइरालाले कांग्रेसलाई एकतामा राख्न गरिएको 'भागिरथ प्रयास' सफल हुन नसकेको उल्लेख गर्दै यसबीच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारेको मूल्यांकन इतिहासले गर्ने बताए । 'हामी सबै कहीं न कहीं चुकेका छौँ भन्ने स्वीकार गर्न मलाई कुनै संकोच छैन,' उनले भने । उनले पार्टीभित्र दृश्य र अदृश्य रूपमा देखिएका अनेक अन्तरविरोधका कारण कांग्रेसले कठिन समय व्यहोर्नुपरेको उल्लेख गर्दै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुन्ने प्रयासहरू रोक्न नसकिएको स्वीकार गरेका छन् । 'कांग्रेस एक भएर निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको इमान्दार प्रयास थियो, तर त्यसो हुन सकेन,' उनले भने । डा. कोइरालाले यस कठिन घडीमा महामानव नेता बीपी कोइरालालाई स्मरण गर्नुपर्ने बताए । बीपी कोइरालाले जीवन र ज्यानको बाजी लगाएर लोकतन्त्रको संघर्ष अघि बढाउँदा पनि केही व्यक्ति र समूह पार्टीबाट अलग भएको प्रसंग स्मरण गर्दै उनले बीपीले यसलाई ‘नियतिको खेल’ भनेको उल्लेख गरेका छन् । 'बीपी नियतिमा विश्वास गर्नुहुन्थ्यो । आज कांग्रेस एकढिक्का हुन नसक्नु पनि त्यही नियतिको कठोर सत्यका रूपमा बुझ्छु,' उनले भने । वरिष्ठ नेता कोइरालाले अब कांग्रेसका सामु आसन्न निर्वाचनमा होमिएर आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने ठूलो जिम्मेवारी रहेको बताएका छन् । संगठनात्मक ऊर्जाको प्रस्फुटनबिनै इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न नसकिने उनको भनाइ छ । उनले सम्पूर्ण कांग्रेस एकताको आवश्यकता अहिले अपरिहार्य भइसकेको उल्लेख गर्दै पार्टी आम कार्यकर्ताले निर्माण गरेको साझा संस्था भएको बताए । 'हाम्रा साझा इतिहास, साझा नेता र शहीदहरू छन् । यिनैबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ,' उनले भने । नेपाली जनताले विगतमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रतिको भरोसा नटुटाएको स्मरण गराउँदै डा. कोइरालाले अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झेर जनताको घर–घरमा पुगेर मत माग्नुपर्ने बताए । समय छोटो भए पनि आफू यथासम्भव कांग्रेसको चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले अन्त्यमा आह्वान गरेका छन्, 'हामी सबै घर फर्कौँ, कांग्रेसमा फर्कौँ । यहाँ जित–हार कसैको छैन । सबैको विन–विन अवस्थामै हामी अगाडि बढ्न सक्छौँ ।'
आधिकारिकता खोज्न निर्वाचन आयोग पुगे गगन-विश्व, विवरण अध्यावधिक गर्ने
काठमाडौं । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका कांग्रेस सभापति गगन कुमार थापाको टिम निर्वाचन आयोग पुगेको छ । निर्वाचनपछि बिहीबार बसेको कार्यसमितिको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि गगन–विश्व पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन/जानकारी गराउन थापाको टिम निर्वाचन आयोग पुगेको हो । बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मासँगै पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए । पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका थिए । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढेको छ । सबैले आयोगको निर्णय कुरिरहेका छन् ।
हप्तामा १० घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सहभागीहरूलाई निम्न (०–५ घण्टा प्रति हप्ता) मध्यम (५–१० घण्टा) र उच्च (१० घण्टा भन्दा) बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो । शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरुमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घण्टा भन्दा बढी भिडीयो गेम खेल खेल्नेहरूमा आहार, निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् । हप्तामा दश घण्टा भन्दा बढी तथा अत्यधिक भिडीयो गेम युवाहरुको लागि आनिकारक भएको कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताएका छन् । विद्यार्थीहरूले हप्तामा १० घण्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउदै सिर्भोले १०–घण्टाको सीमाभन्दा बढी खेल्नेहरुमा स्पष्ट भिन्नताहरू देखा परेको बताएका छन् । हप्तामा १० घण्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरुमा सामान्य भएको अध्ययनले देखाएको छ । सबै अध्ययन समूहहरूले धेरै गेम गेल्नेहरुमा सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घण्टा भन्दा बढी खेल्नेहरुमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् । अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिदै राती अवेर सम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ । रासस
तथ्यांक कार्यालयले माग्यो ४ हजार ४३९ जना जनशक्ति, मासिक ३४ हजारसम्म तलब
काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै करिब ४ हजार ४३९ जनालाई करारमा भर्ती गर्ने जनाएको छ । देशभर आर्थिक गणना सञ्चालन गर्न स्थलगत तथ्यांक सङ्कलन र सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनु पर्नेछ भने गणक पदका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । रोजगारी अवधि करिब साढे दुई महिनाको करारका लागि हुनेछ । सेवा सुविधाअनुसार सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने जानकारी कार्यालयले दिएको छ । योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । आवेदन प्रक्रिया राष्ट्रिय तथ्यांक कार्यालयको आधिकारिक वेबसाइट वा प्रदान गरिएको क्यूआर कोडमार्फत पूरा गर्न सकिनेछ । कार्यालयले म्याद नाघेका वा पूर्ण नभएका दरखास्तमा कुनै कारबाही नहुने स्पष्ट पारेको छ ।
मोरङको उर्लाबारीमा सूर्यज्योति लाइफको १७६औँ शाखा सञ्चालनमा
मोरङ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ । आम नागरिकसम्म बीमाको सहज पहुँच पुर्याउने उद्देश्यसहित स्थापना गरिएको उक्त शाखाको विधिवत् उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले संयुक्त रूपमा गरेका हुन् । कम्पनीले हाल देशभर १७६ वटा शाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सेवा प्रदान गर्दै आएको छ । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमाको पहुँच दूरदराजसम्म विस्तार गर्दै आम नागरिकलाई बीमाको दायराभित्र ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख पौडेलले व्यक्तिगत अनुभव उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि बीमा अत्यावश्यक रहेको बताइन् । साथै, नगरपालिकाले बीमाको महत्त्वबारे जनचेतना फैलाउँदै नगरवासीलाई बीमा प्रणालीमा आबद्ध गराउन प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमा ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्दै आएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानमा फेरि ब्रेकः तेस्रो पटक थपियो म्याद, अब २०८५ सम्म समय
काठमाडौं । विगत ८ वर्षदेखि निकै चर्चा र विवादमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्ने समयसीमा सरकारले पुनः विस्तार गरेको छ । पटक-पटकको प्रयास असफल भएपछि यातायात व्यवस्था विभागले तेस्रो पटक ३ वर्षका लागि म्याद थप गर्दै २०८५ मंसिर ११ गतेसम्मको नयाँ लक्ष्य तय गरेको छ । विभागका अनुसार यो निर्णय रहर नभई बाध्यता हो । हालको सम्झौता तोड्दा राज्यले निर्माण कम्पनीलाई ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने र कानुनी जटिलता आउने देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा म्याद थपिएको हो । विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवका अनुसार पछिल्लो समय जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका कारण पनि काम अघि बढ्न सकेन । उक्त आन्दोलनमा इम्बोस्ड छाप्ने मेसिन (प्लान्ट) सहित करिब ६ लाख तयारी अवस्थाका प्लेटहरू जलेर नष्ट भएका थिए । अब नयाँ मेसिन खरिद र सफ्टवेयर निर्माण गर्न मात्रै करिब १ वर्ष लाग्ने देखिएको छ । २०७३ जेठ १७ गते बंगलादेश र अमेरिकी संयुक्त लगानीको ’डेकाटुर–टाइगर आइटी’ कम्पनीसँग ५ वर्षभित्र २५ लाख सवारीमा प्लेट जडान गर्ने गरी ३ करोड ८७ लाख ५० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्ष बितिसक्दा पनि जम्मा ९० हजार सवारी साधनमा मात्रै यो प्लेट जडान भएको छ, जुन कूल लक्ष्यको तुलनामा अत्यन्तै न्यून हो । यसअघि २०७८ जेठ, २०८० असोज र २०८२ मंसिरसम्मका लागि म्याद थपिए पनि लक्ष्य भेटाउन सकिएको थिएन । कहाँ पुग्यो पूर्वाधारको काम ? इम्बोस्ड नम्बर प्लेट रिड गर्नका लागि देशभर १० वटा आरएफआइडी गेट निर्माण गर्नुपर्ने सम्झौता छ । जसमध्ये हालसम्म थानकोट र नागार्जुनमा मात्रै निर्माण सम्पन्न भएको छ । फर्पिङ र पथलैयामा निर्माण कार्य भइरहेको छ भने जगाती, इटहरी, पोखरा, बुटवल, कोहलपुर र अत्तरियामा चाँडै प्रक्रिया अघि बढाउने विभागको योजना छ । त्यस्तै, ट्राफिक प्रहरीले सडकमै प्लेट चेकजाँच गर्न सक्ने १०० वटा ‘ह्याण्डहेल्ड डिभाइस’ भने विभागले प्राप्त गरिसकेको छ । आगामी एक वर्षभित्र ध्वस्त भएको प्लान्टलाई पुनः सञ्चालनमा ल्याउने र त्यसपछि प्रदेश सरकारहरूसँगको समन्वयमा जडान कार्यलाई तीव्रता दिने विभागको दाबी छ । तर, पटक-पटक म्याद थपिने र काममा सुस्तता देखिने प्रवृत्तिका कारण २०८५ सम्ममा २५ लाख सवारीमा प्लेट जडान होला त भन्ने प्रश्न भने अझै कायमै छ ।
गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
काठमाडौं । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार मध्यान्हबाट सुरु भएको छ । बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा सुरु भएको हो । बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनपछि बसेको यो पहिलो बैठकलाई कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक कार्ययोजनाका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १७० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ । बुधबार एक तोला सुन दुई ७८ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।