२जी नेटवर्कमा सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण

काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार मंसिर ७ गते सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले उक्त प्रणालीको परीक्षण गरेको हो ।

नियन्त्रित वातावरणमा गरिएको परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा परीक्षण सन्देश सफलतापूर्वक प्राप्त भएको थियो । परीक्षणका क्रममा मोबाइल फोनमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा विपद् पूर्वसूचनाका लागि सेल ब्रोडकास्ट प्रणाली कार्यान्वयन गर्ने तयारीले प्रारम्भिक प्राविधिक चरण पूरा गरेको छ ।

सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रभित्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ । यस प्रणालीको विशेषता भनेकै कुनै निश्चित क्षेत्रमा रहेका मोबाइल फोनमा एकै समयमा सूचना प्रवाह गर्न सक्नु हो ।

विशेषगरी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा यस प्रणाली प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ । विपद् आउनुअघि नै मोबाइलमा चेतावनी सन्देश प्राप्त हुँदा नागरिकलाई सुरक्षित स्थानमा जान, आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न समय मिल्नेछ ।

नेपालमा हाल २जी नेटवर्कमार्फत सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण गरिएको हो । प्रारम्भिक परीक्षण सफल भएसँगै थप प्राविधिक परीक्षण र आवश्यक तयारी पूरा गरेर प्रणालीलाई बाढीको उच्च जोखिम रहेका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

Share News