काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो ।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव हुन लागेको हो । यसले नेपाल र जापानबीच सात दशक लामो मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा जापानी हिपहप कलाकार मम्मी–डीसहित नेपाली सांगीतिक समूह कववेभ, कुटुम्ब र सविन राई एन्ड द फराहोको प्रस्तुति पनि रहनेछ ।
महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्ने आयोजकले जनाएको छ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ । महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।
महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।