काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत कीर्तिमानी ८१ अर्ब ३० करोड डलर जुटाएको छ । सेयर निष्कासनको आकार बढाएपछि कम्पनीले सेयर बजारमा अहिलेसम्मकै ठूलो सुरुवाती कारोबारको रेकर्ड बनाएको हो ।
क्लाउड च्याटबोट निर्माता एन्थ्रोपिकको आईपीओपछि कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुगेको छ । एआई क्षेत्रमा लगानी र प्रविधि कम्पनीहरूको पुँजी संकलनबारे विभिन्न आशंका भइरहेका बेला कम्पनीले यति ठूलो रकम जुटाउन सफल भएको हो ।
सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने पहिलो प्रमुख फ्रन्टियर एआई मोडल विकासकर्ता बनेको एन्थ्रोपिकले बुधबार प्रतिकित्ता ८३ डलरमा सेयर मूल्य निर्धारण गरेको छ ।
यसअघि कम्पनीले प्रतिकित्ता ७० देखि ७८ डलरसम्म मूल्य राख्ने प्रारम्भिक योजना बनाएको थियो । तर लगानीकर्ताको उच्च माग देखिएपछि मूल्य बढाइएको हो ।
रोयटर्सले बुधबार नै एन्थ्रोपिकले बिक्री गर्ने सेयर संख्या करिब १९ प्रतिशत बढाएर ९८ करोड पुर्याएको समाचार पहिलोपटक सार्वजनिक गरेको थियो । यससँगै कम्पनीको आईपीओले यसै वर्ष जुनमा एलन मस्कको कम्पनी स्पेसएक्सले बनाएको सेयर बजार प्रवेशको कीर्तिमानसमेत तोडेको छ ।
नियामक निकायमा बुझाइएको विवरणअनुसार आईपीओबाट जुटाइएको रकम र निजी प्लेसमेन्टसमेत जोड्दा कुल कारोबारको आकार १०७ अर्ब ३० करोड डलर पुगेको छ ।
एन्थ्रोपिकले आईपीओकै मूल्यमा थप २६ अर्ब डलर बराबरका सेयर निजी रूपमा बिक्री गरेर जुटाएको हो ।
एआई कम्पनीका सेयरप्रति लगानीकर्ताको आकर्षण घटिरहेको समयमा एन्थ्रोपिक सेयर बजारमा प्रवेश गरेको छ ।
पछिल्ला साताहरूमा चिप निर्माता र क्लाउड सेवा प्रदायक कम्पनीहरू दबाबमा छन् । यी कम्पनीहरूले एआई पूर्वाधार विस्तारका लागि सयौं अर्ब डलर लगानी गरिरहेका छन् ।
तर कम्पनीहरूको मूल्यांकन अत्यधिक भएको, एआई पूर्वाधार निर्माणको लागत बढेको र उद्योगको वृद्धिको प्रमुख आधार मानिएका एनभीडीयाका प्रमुख कार्यकारी जेन्सन हुआङको अचानक बहिर्गमन भएको चर्चाले बजारमा चिन्ता बढाएको छ ।
त्यस्तै, प्रतिस्पर्धा तीव्र भइरहेका बेला एन्थ्रोपिकले आफ्नो तीव्र वृद्धिलाई कसरी कायम राख्छ भन्ने प्रश्न पनि उठिरहेको छ ।
एन्थ्रोपिकको सेयर बाँडफाँटको प्रतीक्षामा रहेको मिनोटर क्यापिटलका सहसंस्थापक तथा पोर्टफोलियो व्यवस्थापक अरमिना रोजेनबर्गले कम्पनीको आईपीओलाई एआई क्षेत्रमा लगानीकर्ताको रुचि मापन गर्ने उपयोगी माध्यमका रूपमा व्याख्या गरेकी छन् ।
उनले भनिन्, ‘तर एउटा कम्पनीको सेयर बजार प्रवेशले मात्रै यो बहस टुंग्याउँदैन । अहिले बजारमा धेरै आशंका छन् । ती आशंका हटाउन केही सकारात्मक घटना आवश्यक छन् । एन्थ्रोपिकले सार्वजनिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि एआई व्यवसायको आर्थिक आधार कति बलियो छ भन्ने परीक्षण गर्ने स्पष्ट अवसर मिल्नेछ ।’
सबै सम्भावित सेयरलाई समेत गणना गर्दा कम्पनीको मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुगेको छ । यसमा स्टक अप्सन र प्रतिबन्धित सेयरजस्ता धितोपत्रसमेत समावेश छन् । यी सम्भावित सेयरलाई गणना नगर्दा कम्पनीको मूल्यांकन करिब १.१ ट्रिलियन डलर हुन्छ ।
एन्थ्रोपिकको आईपीओसम्बन्धी विवरण सार्वजनिक भएपछि अमेरिकी सेयर बजारका फ्युचर्स बढेका छन् । यद्यपि एआई क्षेत्रमा लगानीसम्बन्धी व्यापक चिन्ताका कारण एसियाली प्रविधि कम्पनीका सेयरमा भने दबाब कायमै छ ।
एन्थ्रोपिकले बिहीबारदेखि नास्डाकमा ‘एएनटी’ संकेतअन्तर्गत कारोबार सुरु गर्नेछ ।
कम्पनीको सेयर बजार प्रवेश सफल भएमा सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने तयारीमा रहेका अन्य कम्पनीलाई पनि प्रोत्साहन मिल्न सक्छ । एन्थ्रोपिकको निकटतम प्रतिस्पर्धी ओपनएआईले पनि आगामी वर्षदेखि आईपीओ ल्याउने तयारी गर्ने अपेक्षा गरिएको छ ।
एन्थ्रोपिकको आईपीओमा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्ली प्रमुख निष्कासन तथा बिक्री प्रबन्धक रहेका छन् । यस कारोबारमा २२ वटा बैंक सहभागी छन् । यी दुई बैंकले यसै वर्ष स्पेसएक्सको आईपीओमा पनि प्रमुख बिक्री प्रबन्धकको भूमिका निर्वाह गरेका थिए ।
एन्थ्रोपिकको तीव्र वृद्धिको प्रमुख आधार उसका क्लाउड एआई मोडलप्रति बढ्दो माग हो । विशेषगरी सफ्टवेयर विकासकर्तामाझ लोकप्रिय बनेको ‘क्लाउड कोड’ नामक कोडिङ एजेन्टले कम्पनीको व्यवसाय विस्तारमा महत्त्वपूर्ण योगदान दिएको छ ।
कम्पनीले आईपीओसम्बन्धी विवरणमा उल्लेख गरेअनुसार अक्टोबर ३१ सम्म उसको वार्षिकीकरण गरिएको आम्दानी ८१ अर्ब डलर पुगेको थियो । सेप्टेम्बर ३० मा यस्तो आम्दानी ७१ अर्ब डलर थियो ।
त्यस्तै, सेप्टेम्बर ३० सम्म अघिल्लो १२ महिनाको अवधिमा कम्तीमा एक लाख डलर वार्षिक आम्दानी दिने ग्राहकको संख्या ११ हजार ९०० पुगेको कम्पनीले जनाएको छ । गत वर्षको अन्त्यमा यस्तो ग्राहक संख्या १ हजार ५०० भन्दा बढी मात्रै थियो । यसले कम्पनीको व्यावसायिक पहुँच तीव्र रूपमा विस्तार भइरहेको देखाउँछ ।
तर यही वृद्धिलाई कायम राख्न कम्पनीले ठूलो रकम खर्च गर्नुपरेको छ ।
सन् २०२६ को पहिलो छ महिनामा एन्थ्रोपिकले कम्प्युटिङ क्षमता र पूर्वाधार निर्माणमा करिब ९ अर्ब डलर खर्च गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै चार गुणा बढी हो ।
तेस्रो त्रैमासिकमा मात्रै कम्पनीले कम्प्युटिङ सेवामा थप ५ अर्ब डलर खर्च गरेको थियो । यसले कम्प्युटिङ क्षमतामा खर्च हुने प्रत्येक डलरबाट प्राप्त हुने आम्दानी घटाएको छ ।
कम्पनीको आम्दानी दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा ४७ प्रतिशत बढेर १६ अर्ब ९६ करोड डलर पुगेको थियो । तर सञ्चालन नोक्सानी ५६ करोड ७० लाख डलर भएको छ । अघिल्लो त्रैमासिकमा भने कम्पनीले ९७ करोड ४० लाख डलर सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, खुद नोक्सानी अघिल्लो त्रैमासिकको ६६ अर्ब ३० करोड डलरबाट घटेर २३ अर्ब ३० करोड डलरमा झरेको छ । यसमा कम्पनीका सेयरमा रूपान्तरण गर्न सकिने ऋणपत्रसँग सम्बन्धित गैरसञ्चालन खर्चसमेत समावेश छन् ।
एन्थ्रोपिकले आफ्ना एआई मोडलको विकास, प्रशिक्षण र सञ्चालनका लागि पूर्वाधार साझेदारहरूसँग करिब ९०० अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यसमा अमेजन र अल्फाबेटको गुगललगायत कम्पनी छन् ।
तर कम्पनीले आफ्ना कम्प्युटिङ सेवा प्रदायक र पूर्वाधार साझेदारहरू चिप खरिद तथा क्षमता विस्तारका लागि तेस्रो पक्षको वित्तीय सहयोग र ऋण सुविधामा निर्भर रहेको चेतावनी दिएको छ ।
आईपीओसम्बन्धी विवरणमा एन्थ्रोपिकले भनेको छ, ‘यस्तो वित्तीय सहयोग वा ऋण सुविधा उपलब्ध हुन छाडेमा अथवा महँगो भएमा सम्झौताअनुसार उपलब्ध गराउनुपर्ने कम्प्युटिङ क्षमता ढिलो हुन सक्छ, मूल्य पुनर्निर्धारण हुन सक्छ, घट्न सक्छ वा उपलब्ध नै नहुन सक्छ ।’
प्रतिस्पर्धा र एआई सुरक्षाको चुनौती
एन्थ्रोपिकले व्यावसायिक विस्तार र एआई सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती पनि सामना गरिरहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले शक्तिशाली एआई मोडल विकास र सार्वजनिक गर्ने गति केही सुस्त बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
एआईको तीव्र विकासले त्यसबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापन गर्ने समाजको क्षमतासमेत उछिन्न सक्ने उनको चेतावनी छ ।
कम्पनीले आईपीओसम्बन्धी विवरणमा भनेको छ, ‘अत्याधुनिक मोडल, प्लेटफर्म र एप्लिकेसनको विकास तथा प्रयोगका क्षेत्र विस्तार हुँदा हाम्रा मोडलबाट हानि पुग्ने जोखिम थप बढ्न सक्छ ।’
यसैबीच, व्यावसायिक क्षेत्रमा एआई उपकरण उपलब्ध गराउने प्रमुख कम्पनी बन्ने प्रतिस्पर्धा पनि तीव्र भएको छ ।
रोयटर्सले सेप्टेम्बरमा उल्लेख गरेको कर्पोरेट खर्च व्यवस्थापन प्लेटफर्म र्याम्पको तथ्यांकअनुसार ओपनएआईको पछिल्लो प्रमुख एआई मोडल जीपीटी–६ एस्ट्राले व्यावसायिक क्षेत्रमा हुने कुल एआई खर्चको करिब १३ प्रतिशत हिस्सा ओगटेको छ । एन्थ्रोपिकको क्लाउड फेबलको हिस्सा भने करिब ८ प्रतिशत छ ।
प्रतिस्पर्धाको चुनौती शक्तिशाली व्यावसायिक एआई मोडल बनाउने केही कम्पनीमा मात्रै सीमित छैन । क्यापजेमिनीको हालैको एक अध्ययनअनुसार ठूला कम्पनीका ५९ प्रतिशत कार्यकारीले आगामी एक वर्षमा ओपन–वेट मोडलको प्रयोग बढाउने योजना बनाएका छन् । एआईको लागत बजेटभन्दा माथि जान थालेपछि कम्पनीहरू तुलनात्मक रूपमा कम खर्चिला विकल्पतर्फ आकर्षित भइरहेका छन् ।
एन्थ्रोपिकका ठूला ग्राहकहरूमध्ये एक मेटा प्लेटफम्र्सले पनि आफ्नै एआई क्षमता विकास गरिरहेको छ । यस क्रममा उसले एन्थ्रोपिकका मोडलको प्रयोग घटाउने प्रयास गरिरहेको रोयटर्सले यसअघि जनाएको थियो ।
आईपीओअघि एन्थ्रोपिकमा करिब १ अर्ब ५० करोड डलर लगानी गरेको बेलायतस्थित लगानी कम्पनी बेली गिफोर्डका निजी कम्पनी प्रमुख पिटर सिंगलहस्र्टले भने एआई क्षेत्रमा सबैभन्दा उन्नत प्रविधि विकास गर्ने कम्पनीले नै ठूलो मूल्य सिर्जना गर्ने बताएका छन् ।
उनले भने, ‘हाम्रो मान्यता के हो भने भविष्यमा सिर्जना हुने ठूलो मूल्य अग्रपंक्तिमा रहने कम्पनीले प्राप्त गर्नेछ ।’
उनका अनुसार एन्थ्रोपिकसँग त्यस्तो अग्रपंक्तिमा रहन आवश्यक सबै आधार छन् । यद्यपि यसले सफलता सुनिश्चित गर्दैन । तर अन्य कम्पनीको तुलनामा एन्थ्रोपिक अग्रपंक्तिमा कायम रहन सक्ने सम्भावना बढी रहेको उनको विश्वास छ ।
जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी
एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी
सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी