एनपीएल: फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो । उक्त खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यता, चितवन राइनोजले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । बुधबार भएको उक्त खेलमा पराजित भएपछि काठमाडौं प्रतियोगिताबाट बाहिरिएको थियो ।

आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिनेछ ।

Share News