राप्रपा महाधिवेशनमा ४ हजार प्रतिनिधि सहभागी हुने, खुलामञ्चमा उद्घाटन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।

मंसिर ४ गते काठमाडौंको खुलामञ्चमा सुरु हुने महाधिवेशनका लागि पदेन र निर्वाचित गरी ४ हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले महाधिवेशनमा १ हजार ३२९ जना पदेन प्रतिनिधिसहित प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वका आधारमा प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेशसभा निर्वाचन क्षेत्रलाई आधार बनाइएको उनले बताए ।

पार्टीको व्यवस्थाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी सिद्धान्तअनुसार ९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३०० क्षेत्रबाट पूर्ण प्रतिनिधित्व हुने श्रेष्ठले जानकारी दिए । 

बाँकी ३० निर्वाचन क्षेत्रमा महाधिवेशनको प्रतिनिधित्व गर्ने पार्टी सदस्य सँख्या अपुग भएकोले पदेन प्रतिनिधिमार्फत प्रतिनिधित्व हुने उनले बताए ।

महाधिवेशनका पदेन प्रतिनिधिमा ७५३ वटै स्थानीय तहका पार्टी अध्यक्ष र १६५ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष रहनेछन् । 

यसैगरी सात प्रदेशमध्ये पाँच प्रदेशका अध्यक्ष, ७७ जिल्लाका अध्यक्ष र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । 

मधेश र बागमती प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न नभएकाले ती प्रदेशका सभापति महाधिवेशनमा सहभागी हुन नपाउने भएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा समावेशी सहभागितालाई समेत सुनिश्चित गरिएको छ । 

पदेन र निर्वाचित प्रतिनिधिको सहभागितासहित महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि जुट्ने पार्टीको तयारी छ ।

मंसिर ४ गते खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्नुका साथै राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने श्रेष्ठले जानकारी दिए ।

Share News