काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालस्थित मुख्य स्टोरको ग्रोसरी सेवा २४ सै घण्टा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ ।
कम्पनीले मंसिर १ गते (आज) देखि टंगाल स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा खुला राख्ने तयारी गरेको थियो । तर, केही प्राविधिक कारणवश उक्त योजना अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भाटभटेनीले जनाएको छ ।
योजना स्थगनबारे जानकारी दिँदै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकहरूलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २४ सै घण्टा सेवा सञ्चालनको तयारी गरिएको बताए ।
‘केही प्राविधिक कारणले तत्कालका लागि उक्त योजना स्थगित गर्नुपरेको छ,’ उनले भने, ‘हामी ग्राहकहरूको अपेक्षा र विश्वासलाई सधैं उच्च प्राथमिकतामा राख्छौं । आवश्यक तयारी पूरा गरी छिट्टै नै २४ सै घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्नेछौं ।’