काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । ग्राहकलाई रातिको समयमा समेत सहज रूपमा किनमेल गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले टंगाल शाखालाई २४ सै घण्टा खुला गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।
भाटभटेनीले यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसै घण्टे सेवा सुरु गरेको थियो । टंगालपछि ललितपुरको पाटन शाखालाई पनि २४ सै घण्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको पौडेलले विकासन्युजसँग बताए । ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोर अहिले देशभर विस्तार भइरहेको उनको भनाइ छ ।
हाल कम्पनीका २७ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ भने देशभरका स्टोरमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनीले त्यसपछि पनि आफ्नो व्यवसाय विस्तार र पुनर्निर्माणलाई निरन्तरता दिएको छ ।
२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । कम्पनीका अनुसार मेसिनरी तथा स्टकमा रहेका सामानसहित कुल १० अर्ब ८६ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।
उक्त क्षतिको शोधभर्नाका लागि कम्पनीले बीमा कम्पनीहरूसँग करिब ८ अर्ब रुपैयाँ बराबरको दाबी गरेको छ । उक्त दाबी अहिले प्रक्रियामै रहेको कम्पनीले जनाएको छ । ठूलो क्षति भए पनि कम्पनीले कुनै कर्मचारीलाई रोजगारीबाट नहटाएको जनाएको छ ।

घटनाका क्रममा कुनै पनि कर्मचारीको मानवीय क्षति नभएको र घाइतेसमेत नभएको कम्पनीको भनाइ छ । प्रभावित स्टोरका कर्मचारीलाई अन्य शाखामा स्थानान्तरण गरी व्यवस्थापन गरिएको थियो ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएको टंगाल शाखाको पुनर्निर्माण तथा मर्मत सम्पन्न गरी गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । अहिले त्यही शाखालाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको हो ।
भाटभटेनीले अब देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य अघि सारेको छ । पहिलो चरणमा स्टोरको संख्या ५० पु¥याउने र ५० हजार नेपालीलाई प्रत्यक्ष रोजगारी दिने कम्पनीको योजना रहेको पौडेलले बताए ।
‘विगतको घटनालाई हामीले गुनासोका रूपमा लिएका छैनौं,’ पौडेलले भने, ‘हामीले त्यसलाई एउटा पाठ र अझ बलियो हुने अवसरका रूपमा लिएका छौं ।’
ठूलो आर्थिक क्षतिपछि पनि कर्मचारीको रोजगारी जोगाउँदै स्टोरहरू पुनः सञ्चालनमा ल्याएको भाटभटेनीले आगामी दिनमा देशव्यापी विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको जनाएको छ ।
