सन्न्यास तोड्दै मैदानमा उत्रिए ४६ वर्षीय रोनाल्डिन्हो, यस्तो छ कारण

काठमाडौं । व्यावसायिक फुटबलबाट सन्न्यास लिएको आठ वर्षपछि ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा फेरि मैदानमा फर्किएका छन् । 

आफ्नो करिअरको ३००औं गोल गर्ने लक्ष्यसहित उनी ११ वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा फर्किएका हुन् ।

आइतबार इटालीको तेस्रो डिभिजनको क्लब रावेन्नाबाट स्थानीय प्रतिद्वन्द्वी फोर्लीविरुद्ध खेल्दै उनले पुनरागमन गरेका हुन् । रावेन्नाको घरेलु मैदानमा भएको उक्त खेलमा टोलीले २–० को जित निकालेको छ ।

१० नम्बरको जर्सी लगाएर मैदान उत्रिएका रोनाल्डिन्होले पहिलो हाफ अर्थात् ४५ मिनेट खेले । उनी टोलीको सुरुआती ११ खेलाडीमध्ये एक थिए । 

रावेन्नाले पहिलो गोल गर्दा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । विपक्षी खेलाडीलाई छल्दै उनले दिएको पासबाट सुरु भएको आक्रमणलाई जुलियो डोनाटीले गोलमा परिणत गरेका थिए । 

खेलको ३६औं मिनेटमा डोनाटीले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको रावेन्नाले दोस्रो हाफको ५८औं मिनेटमा सिमोने राब्बीको गोलमार्फत जित सुनिश्चित गरेको थियो । रोनाल्डिन्होलाई भने पहिलो हाफपछि प्रतिस्थापन गरिएको थियो ।

रोनाल्डिन्होको पुनरागमनको पछाडि क्लबमा उनको लगानी, क्लबका अध्यक्षसँगको व्यक्तिगत सम्बन्ध र आफ्नो करिअरको एउटा विशेष उपलब्धि हासिल गर्ने चाहना रहेको छ ।

रोनाल्डिन्हो यसअघि नै रावेन्ना क्लबमा लगानीकर्ताका रूपमा जोडिएका थिए । क्लबका अध्यक्ष इग्नाजियो सिप्रियानी उनका पुराना मित्र हुन् । 

उनीहरूबीचको मित्रताकै कारण रोनाल्डिन्हो इटालियन क्लबमा आबद्ध भएका हुन् । क्लबमा लगानी गर्नुका साथै खेलाडीका रूपमा पनि मैदानमा उत्रिने सम्झौता भएको थियो ।

गत अगस्टमा इटाली पुगेका बेला रोनाल्डिन्होले आफू क्लबलाई सहयोग गर्न आएको बताएका थिए । उनले आफूले खेल्ने वा नखेल्ने भन्ने विषय प्रशिक्षक र क्लब अध्यक्षमा निर्भर रहने बताएका थिए । 

क्लब अध्यक्ष सिप्रियानीले पनि रोनाल्डिन्होले रावेन्नाका लागि आफ्नो करिअरको अन्तिम गोल गरून् भन्ने चाहना व्यक्त गरेका थिए ।

रोनाल्डिन्होको अर्को महत्त्वपूर्ण लक्ष्य करिअरको ३००औं गोल पूरा गर्नु हो । व्यावसायिक फुटबल करिअरमा उनले अहिलेसम्म २९९ गोल गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसैले रावेन्नाबाट गोल गर्दै करिअरको गोल संख्या ३०० पुर्याउने उनको चाहना रहेको छ ।

क्लबले उनलाई खेलाडीका रूपमा दर्ता गराएपछि मैदानमा उत्रिने बाटो खुलेको थियो । यद्यपि, उनी नियमित रूपमा खेल्ने वा यो एक खेल मात्रै खेल्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । खेलपछि उनले क्लब अध्यक्षले बोलाएमा फेरि मैदानमा उत्रिन सक्ने संकेत गरेका छन् ।

रोनाल्डिन्होले सन् २०१५ सेप्टेम्बर २६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सेका लागि अन्तिम प्रतिस्पर्धात्मक खेल खेलेका थिए । त्यसपछि उनले कुनै व्यावसायिक प्रतिस्पर्धामा भाग लिएका थिएनन् । सन् २०१८ मा उनले औपचारिक रूपमा व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका थिए ।

करिब ११ वर्षपछि मैदानमा फर्किँदा रावेन्नाका समर्थकले उनको भव्य स्वागत गरेका थिए । उनी खेल्न मैदान प्रवेश गर्दा समर्थकले ताली बजाएर स्वागत गरेका थिए । उनको पुनरागमन हेर्न रंगशालामा ठूलो संख्यामा दर्शक उपस्थित थिए । खेलपछि पनि समर्थकले उनलाई उत्साहपूर्वक अभिवादन गरेका थिए ।

रोनाल्डिन्होले रावेन्नाका नयाँ टिममेटसँग एउटै मैदानमा खेल्न पाउँदा खुसी लागेको बताएका छन् । उनीसँगै ब्राजिलका पूर्वगोलरक्षक तथा उनका पूर्वसहकर्मी डिडा पनि उक्त अवसरमा उपस्थित थिए ।

विश्व फुटबलका एक चर्चित हस्ती

सन् १९८० मार्च २१ मा ब्राजिलको पोर्टो एलेग्रेमा जन्मिएका रोनाल्डिन्हो आफ्नो उत्कृष्ट ड्रिब्लिङ, बल नियन्त्रण, पासिङ र आकर्षक खेलशैलीका कारण विश्व फुटबलमा चर्चित बनेका थिए ।

उनले सन् २००२ मा ब्राजिललाई फिफा विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसक्रममा इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा गरेको लामो दूरीको फ्रिकिक गोल उनको करिअरको अविस्मरणीय क्षणमध्ये एक हो ।

सन् २००५ मा उनले प्रतिष्ठित बालोन डीुओर र फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् २००६ मा बार्सिलोनाबाट युईएफए च्याम्पियन्स लिगको उपाधि जितेका उनले स्पेनिस ला लिगाको उपाधि पनि दुईपटक हात पारेका थिए ।

उनले आफ्नो व्यावसायिक करिअरमा ग्रेमियो, पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना, एसी मिलान, फ्लामेङ्गो, एट्लेटिको मिनेरो र फ्लुमिनेन्से जस्ता क्लबबाट खेलेका थिए । मेक्सिकोको क्वेरेटारो क्लबबाट पनि उनले फुटबल खेलेका थिए ।

सन् २००८ देखि २०११ सम्म एसी मिलानमा बिताएका उनले त्यहाँबाट इटालियन सिरी एको उपाधिसमेत जितेका थिए । क्लब र राष्ट्रिय टोली दुवैबाट उपाधि जितेका रोनाल्डिन्हो आधुनिक फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छन् ।

Share News