काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो । टोलीमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता तथा सांसदहरू सहभागी छन्। भ्रमण ११ दिनको हुनेछ ।
भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अधिकारीहरूसँग राजनीतिक संवाद र अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। त्यस्तै, चीनको आर्थिक विकास, सुशासन, सार्वजनिक सेवा प्रवाह, प्रविधि र औद्योगिक विकासका अभ्यासबारे जानकारी लिने रास्वपाले जनाएको छ।
प्रतिनिधिमण्डलले चीनका विभिन्न सहरको भ्रमण गर्नेछ। भ्रमणका क्रममा सिचुवान प्रान्तका उच्च प्रविधियुक्त उद्योग तथा औद्योगिक पार्कको अवलोकन गर्ने कार्यक्रम छ। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलमा हुने अन्तरक्रियामा सहभागी हुने र सन् २००८ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण गरिएको वेनछुआन क्षेत्रको समेत भ्रमण गर्ने कार्यतालिका छ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसँगै सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी छन्।
त्यस्तै सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा भ्रमण टोलीमा सहभागी छन्।
रास्वपाले यस भ्रमणलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र विकासका क्षेत्रमा सिकाइको अवसरका रूपमा लिएको छ।