काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा पदमा कायम राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् ।
सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नियुक्त गरेपछि आम नागरिक र पार्टी पङ्क्तिबाटै सरकारको आलोचना हुँदै आएको छ । उनले पार्टीले आईजीपीलाई हटाउन वा पदमा कायम राख्न सरकारलाई कुनै दबाब वा निर्देशन नदिएको दोहोर्याए ।
खरेलले यस विषयमा सरकारका तर्फबाट पनि धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै थप आवश्यक विषय सरकारले नै स्पष्ट पार्दै जाने बताए ।
उनले भने, ‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो । पछिल्लो समय सरकारका तर्फबाट पनि यसबारे धारणा सार्वजनिक भइसकेको छ । यो विषय अदालतसम्मसमेत पुगेकाले अहिले विभिन्न प्रक्रियामा रहेको छ । आवश्यक परेमा सरकारले यसबारे थप स्पष्ट पार्दै जानेछ ।’
आईजीपीसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।