काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन आज (शनिबार) जनकपुरधाम प्रस्थान गर्दैछन् । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन लामिछाने दम्पती काठमाडौँबाट त्यसतर्फ जान लागेका हुन् ।
पार्टी सभापतिको भ्रमणका क्रममा समन्वय, सहकार्य र उपस्थितिका लागि रास्वपाले मधेस प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।
तय गरिएको कार्यक्रम तालिकाअनुसार शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा स्वागतपछि १ः०० बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै सोही स्थानको अर्को सभाहलमा दिउँसो २ः०० देखि ४ः०० बजेसम्म पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुनेछ भने साँझ ५ः०० बजे छठको ‘खरना’ पूजा तथा अन्य तयारीका लागि उनी निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन् ।
भ्रमणको दोस्रो दिन आइतबार बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म लामिछाने दम्पतीले जनकपुरधामको जानकी मन्दिर, मुखियापट्टीको लक्ष्मीनारायण मन्दिर, महोत्तरीस्थित मठियानी लक्ष्मीनारायण मठ मन्दिर र जलेश्वरनाथ मन्दिर, मुजेलियाको रामजानकी मरवा तथा धनुषाधाम मन्दिरलगायतका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरूको दर्शन र अवलोकन गर्नेछन् ।
सोही दिन दिउँसो ३ः०० बजे पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको मुख्य पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम तय भएको छ । यसैगरी, सोमबार बिहान ५ः०० बजे उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठको विधि समापन गरेपछि दिउँसो जनकपुर विमानस्थलबाट उनी काठमाडौं फर्कनेछन् ।