प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । प्रोटोनको विद्युतीय कार ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

यी अवार्डले मलेसियाको विद्युतीय सवारी बजारमा ई.मास ५ ले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्राप्त गरेको लोकप्रियता र स्वीकार्यतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनमा आधारित छ । यसले कारको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको कम्पनीको भनाइ छ ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक सुविधासहित ई.मास ५ बजारमा उपलब्ध रहेको छ । विद्युतीय सवारीलाई सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रयासलाई यो उपलब्धिले थप बल पुर्याएको कम्पनीले जनाएको छ ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधन रोज्न थालेको अवस्थामा ई.मास ५ को अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण रहेको कम्पनीको दाबी छ ।

नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । कम्पनीले प्रोटोन मलेसियासँगको सहकार्यमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई सहज र भरपर्दो सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रोटोन ई.मास ७ को सफल परिचयपछि ई.मास ५ को आगमनलाई नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ । विश्वस्तरीय अटोमोबाइल प्रविधि नेपाली उपभोक्तामाझ पुर्याउँदै विद्युतीय सवारीप्रतिको विश्वास बढाउने लक्ष्य कम्पनीले राखेको छ । 

Share News