काठमाडौं । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा होटलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नोक्सानी २८ प्रतिशतले घटाएको छ भने सञ्चालन नाफा ५३ प्रतिशतले बढाएको छ ।
शुक्रबार सार्वजनिक कम्पनीको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म होटलको खुद नोक्सानी ४ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ५७ लाख रुपैयाँ नोक्सानीमा थियो । यसअनुसार एक वर्षमा कम्पनीको नोक्सानी १ करोड ५४ लाख रुपैयाँले घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ११ करोड ५५ लाख रुपैयाँ थियो । यसअनुसार होटलको कुल आम्दानी करिब १२.३ प्रतिशतले बढेको देखिन्छ ।
त्यस्तै, होटलको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार भएको छ । गत वर्षको पहिलो त्रैमासमा २ करोड ४३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो करिब ५३ प्रतिशतको वृद्धि हो ।
कम्पनीले वित्तीय दायित्वसमेत घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २० करोड रुपैयाँ रहेको दीर्घकालीन कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर २ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, अल्पकालीन कर्जा पनि १४ करोड १७ लाख रुपैयाँबाट घटेर ३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटलका रूपमा सञ्चालनमा रहेको सिटी होटलले सेवा सुविधाको गुणस्तर सुधार र बजार विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको सुरुवातदेखि बाढी तथा प्रतिकूल मौसमका कारण काठमाडौंको समग्र होटल व्यवसाय प्रभावित भएको थियो । धार्मिक तथा तीर्थयात्रामा आधारित पर्यटनमा तुलनात्मक रूपमा बढी निर्भर रहेको होटलले पनि त्यसको प्रभाव व्यहोर्नुपरेको थियो ।
यस्तो चुनौतीका बाबजुद होटलले स्थानीय बजारमा पहुँच विस्तार, ट्राभल एक्स्पो तथा कार्यशालामा सहभागिता र अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी कार्यक्रममा उपस्थिति बढाउने रणनीति अघि सारेको जनाएको छ । साथै, विभिन्न दूतावास तथा सरोकारवालासँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विकास गरी पर्यटक आकर्षित गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।