प्रचण्ड पाँच दिन रुसमा, विश्व सम्मेलनमा सहभागी हुन मस्को प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने रुस भ्रमणका लागि शुक्रबार मस्को प्रस्थान गरेका छन् । विश्वभरका कम्युनिस्ट तथा समाजवादी राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी रुस प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि मस्को प्रस्थान गरेको पार्टीका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । उनीहरू रुसी समयअनुसार शुक्रबार राति साढे ११ बजे मस्को पुग्ने कार्यक्रम रहेको पुनले बताए ।

रुसको अखिल रूसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा ‘फर द फ्रिडम अफ नेसन्स’ शीर्षकमा विश्व सम्मेलन आयोजना हुँदैछ । पुनका अनुसार प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुन मस्को गएका हुन् ।

सम्मेलनको मुख्य उद्देश्य शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्नु रहेको छ । प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको मोडेल र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यतालाई सम्मेलनले प्राथमिकता दिने आयोजकको उद्देश्य रहेको नेकपाका नेताहरूले बताएका छन् ।

त्यस्तै, विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावको सट्टा बहुध्रुवीय विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ग्लोबल साउथका मुलुकबीच राजनीतिक एवं आर्थिक सहकार्य विस्तार गर्ने विषय पनि सम्मेलनको प्राथमिकतामा रहेका छन् ।

यसअघि सन् २०२४ मा पनि मस्कोमै ‘फर द फ्रिडम अफ नेसन्स फर अ जस्ट वर्ल्ड’ शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो ।

पुनका अनुसार रुस बसाइका क्रममा प्रचण्डले सम्मेलनमा सहभागिता जनाउनुका साथै आवश्यक राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

पाँच दिन रुसमा बिताएर प्रचण्ड नोभेम्बर १९ मा स्वदेश फर्किने कार्यक्रम रहेको पुनले जानकारी दिए । 

Share News