काठमाडौंको तापक्रम १०.४ डिग्री, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

काठमाडौं । काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन भएको हो ।

यो तापक्रम बिहीबारको तुलनामा बढी हो । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो ।

आजको वास्तविक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे पुनः मापन गरिनेछ । त्यसबेला तापक्रम केही घट्न सक्ने सम्भावना रहे पनि कहिलेकाहीँ प्रारम्भिक मापनकै तापक्रम कायम रहने महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ ।

यसैबीच, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Share News