काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट करिब तीन सय किलोग्राम सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपज संघीय राजधानी काठमाडौं भित्र्याइएको छ ।
गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवामार्फत किसानले उत्पादन गरेका फूल तथा फलफूल सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् ।
काठमाडौं उपत्यकासँग भौगोलिक रूपमा नजिक रहे पनि उपयुक्त ढुवानी तथा बजारीकरणको अभावमा हेलम्बुका उत्पादनले विगतमा सहज बजार पहुँच पाउन सकेका थिएनन् । यही समस्या समाधान गर्न गाउँपालिकाले हेलम्बुदेखि काठमाडौंसम्म नियमित ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’को प्रबन्ध मिलाएपछि स्थानीय कृषि उपजले राजधानीको बजार पाउन थालेका हुन् ।
गाउँपालिकाका वरिष्ठ कृषि प्राविधिक उद्धव कार्कीका अनुसार कृषि एम्बुलेन्सको व्यवस्था भएपछि पहिलो पटक ठूलो परिमाणमा हेलम्बुको सयपत्री, मखमलीलगायत फूल काठमाडौं ल्याइएको हो । फूलका अतिरिक्त स्थानीय स्तरमा उत्पादित एभोकाडो, भोगटे, बिमिरो, हलुवाबेद र जुनारजस्ता मौसमी फलफूलसमेत बिक्रीका लागि राजधानी ल्याइएको कार्कीले जानकारी दिए ।
विगतमा ढुवानीको असुविधा र बिचौलियामा निर्भर हुनुपर्ने बाध्यताका कारण दुर्गम भेगका किसान आफ्नो उत्पादन बारीमै कुहाउन वा न्यून मूल्यमा बेच्न विवश थिए । गाउँपालिकाको यस पहलले ढुवानी लागत घटाउनुका साथै किसानलाई उत्पादनको उचित मूल्य दिलाउन सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी तिहारको पूर्वसन्ध्यामा राजधानीमा फूल तथा फलफूलको माग उच्च हुने भएकाले यसले स्थानीय कृषकलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउने अपेक्षा गरिएको छ ।
हेलम्बु गाउँपालिकाले पछिल्ला वर्षमा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा मात्र सीमित नराखी जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण, स्थानीय जीविकोपार्जन र समुदायको उत्थानशीलतासँग जोडेर एकीकृत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्थानीय सरकारको यस्तो रणनीतिक पहलपछि हेलम्बुका बासिन्दा परम्परागत खेती प्रणालीबाट व्यावसायिक पुष्प तथा फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।