काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा लिन पाँचवटा दमकल परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । बारका सबै झ्याल तथा ढोका बन्द रहेका कारण भित्र पानी पठाउन कठिन हुँदा आगो निभाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आगो नियन्त्रणका लागि अहिले पाँचवटा दमकल प्रयोग भइरहेका छन् । तर, लामो प्रयासका बाबजुद आगो नियन्त्रणमा लिन सकिएको छैन ।
‘अहिले आगो निभाउने काम भइरहेको छ । लाउन्ज बारका झ्यालढोका बन्द हुँदा भित्र पानी पठाउन समस्या भइरहेको छ,’ कार्यालयले जनाएको छ ।
दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आइतबार बिहान करिब ८ः५५ बजे आगलागी भएको हो । आगलागीको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार आगलागी हुँदा बारभित्र कोही पनि नरहेको प्रारम्भिक जानकारी छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । बन्द संरचनाभित्र आगो फैलिएको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
आगलागीबाट भएको भौतिक क्षतिको यकिन विवरण पनि आगो नियन्त्रणमा आएपछि मात्रै प्राप्त हुने प्रहरीले जनाएको छ ।