काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरेर मनाइँदैछ ।
तिहारको दोस्रो दिन कुकुरलाई यमराजको दूतका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । घरमा पालिएका तथा सडकमा रहेका कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मीठा परिकार खुवाएर सम्मान गर्ने गरिन्छ ।
हिन्दु धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा रक्षकका रूपमा लिइन्छ । कुकुरले घरको सुरक्षा गर्नुका साथै मानिसप्रति वफादारी देखाउने भएकाले पनि यस दिन विशेष सम्मान गर्ने चलन छ ।
कुकुर पूजाका अवसरमा आज विभिन्न स्थानमा कुकुरलाई फूलमाला र टीका लगाएर मीठा खानेकुरा खुवाइँदैछ । तिहारको पहिलो दिन काग पूजा गरिएको थियो भने दोस्रो दिन कुकुर पूजा गरिन्छ । त्यसपछि क्रमशः लक्ष्मी पूजा, गोवर्धन पूजा तथा म्हः पूजा र भाइटीका मनाइन्छ ।