काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट हुन पुग्यो ।
यो जितसँगै चार खेलबाट ५ अंक जोड्दै चितवन तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने लगातार चौथो हार व्यहोरेको पोखरा अंकविहीन रहँदै तालिकाको पुछारमा सीमित बनेको छ ।
तुलनात्मक रूपमा मध्यम लक्ष्य पछ्याएको पोखराको सुरुवात भने राम्रो हुन सकेन । लगातार तीन हारपछि कुशल भुर्तेलको ठाउँमा चमिका करुणारत्नेलाई नयाँ कप्तान चयन गरेको पोखराले ओपनिङ जोडीमा परिवर्तन गरे पनि त्यसले खासै काम गरेन ।
ओपनर कुशल भुर्तेल पहिलो ओभरमै मात्र ४ रनमा आउट भए । त्यसपछि युवराज सम्रा (१९ रन) र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै पारि सम्हाल्ने प्रयास गरेका थिए ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन (४४ बल, ३ चौका, १ छक्का) को योगदान दिए पनि अर्को छेउबाट उनलाई अन्य ब्याटरको बलियो साथ मिल्न सकेन । सदिरा समराविक्रमा (४), महेदी हसन (७), किरण ठगुन्ना (१२), अर्जुन घर्ती (१२) र कप्तान करुणारत्ने (२) सस्तैमा समेटिएपछि पोखरा लक्ष्यसम्म पुग्न सकेन ।
पोखरालाई १२१ रनमै रोक्न चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए भने कमल सिंह ऐरीले २ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट चट्काए। त्यस्तै डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर अर्जुन साउद (३१) र डाविड मालान (२८) ले पहिलो विकेटका लागि ६० रनको दर्बिलो साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
बीचका ओभरहरूमा डान मोस्ले (२) र मार्की खेलाडी कुशल मल्ल (११) सस्तैमा आउट भएपछि टोली केही दबाबमा परेको थियो ।
तर, रवि बोपारा र कप्तान सिकन्दर राजाले पाँचौँ विकेटका लागि ६० रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई उकासे ।
बोपाराले २८ बलमा ३५ रन बनाए भने आक्रामक ब्याटिङ गरेका कप्तान राजाले मात्र १६ बलमा २ चौका र ४ छक्काको मद्दतले टोलीका लागि सर्वाधिक ३७ रन जोडे ।
कमल सिंह ऐरी २ रनमा अविजित रहे। बलिङतर्फ पोखराका नयाँ कप्तान चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान २–२ विकेट लिएका थिए ।