लिबियामा नाइकीको लोगो अंकित कपडा लगाउन र बेच्न प्रतिबन्ध

काठमाडौं । लिबियाको सर्वोच्च धार्मिक संस्था दारुल इफ्ताले मुस्लिमहरूलाई अमेरिकी खेलकुद सामग्री उत्पादक कम्पनी नाइकीको लोगो अंकित कपडा खरिद–बिक्री नगर्न र नलगाउन फतवा जारी गरेको छ ।

बीबीसी न्युज उर्दूका अनुसार राजधानी त्रिपोलीस्थित दारुल इफ्ताले जारी गरेको फतवामा अमेरिकी कम्पनी नाइकीको नाम प्राचीन ग्रिक विजयकी देवी ‘नाइकी’ को नामबाट राखिएको उल्लेख छ । 

कम्पनीको चर्चित ‘स्वुस’ लोगो पनि त्यही देवीको पखेटाबाट प्रेरित भएर बनाइएको फतवामा जनाइएको छ ।

फतवामा नाइकीको लोगो अंकित कपडा लगाउनु बहुदेववाद अर्थात् ‘शिर्क’ को श्रेणीमा पर्ने प्रतीकलाई प्रोत्साहन गर्नुजस्तै भएको उल्लेख गरिएको छ ।

लिबियामा प्राचीन ग्रिक सहर साइरीन अवस्थित छ । त्यहाँ उत्खननका क्रममा फेला परेका पुरातात्त्विक अवशेषमा यही नामकी ग्रिक देवीको मूर्ति पनि समावेश छ ।

दारुल इफ्ताले अमेरिकी कम्पनी नाइकीमाथि इजरायललाई समर्थन गरेको आरोपसमेत लगाएको छ । उसले इजरायललाई समर्थन गर्ने यस्ता सबै कम्पनीका उत्पादन बहिष्कार गर्न आह्वान गरेको छ ।

दारुल इफ्ताले सन् २०२३ मा काउन्सिल फर रिसर्च एन्ड सरिया स्टडिजले जारी गरेको विज्ञप्तिलाई पनि आफ्नो फतवाको आधार बनाएको छ । 

उक्त विज्ञप्तिमा गाजा युद्धका क्रममा इजरायललाई समर्थन गर्ने पश्चिमी कम्पनीहरूका उत्पादन बहिष्कार गर्न आह्वान गरिएको थियो ।

इस्लामी कानुनसँग सम्बन्धित विषयमा दिइने धार्मिक रायलाई फतवा भनिन्छ । उक्त फतवालाई लिबियाका ग्रान्ड मुफ्ती सादिक अल–गरियानीले स्वीकृति दिएका छन् ।

Share News