सडक सुधारका लागि एडीबीको ४६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार

यी सडकमा हुनेछ काम

काठमाडौं । सरकारले सडक सुधार तथा स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब ४६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गते बसेको बैठकले एडीबीबाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले २०८३ कात्तिक १७ गतेका लागि तोकेको अमेरिकी डलरको बिक्रीदर प्रतिडलर १५२ रुपैयाँ १५ पैसाका आधारमा उक्त सहायता रकम करिब ४६ अर्ब ३३ करोड रुपैयाँ हुन्छ । यसमध्ये ऋणतर्फ करिब ४३ अर्ब ३४ करोड रुपैयाँ र अनुदानतर्फ करिब ३ अर्ब ४ करोड रुपैयाँ पर्छ ।

एडीबीको वित्तीय सहायताबाट पूर्व-पश्चिम राजमार्गको नारायणगढ-हेटौँडा खण्ड र पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डलगायत सडक सुधार तथा स्तरोन्नति गर्ने योजना छ ।

नारायणगढ-हेटौँडा खण्डको करिब ७० किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गर्ने र मुग्लिन-आँबुखैरेनी खण्डको सडक पनि स्तरोन्नति गर्ने योजना रहेको छ ।

Share News