प्रधानन्यायाधीशले भने : इनम सापकोटासँग मेरो कुनै सम्पर्क र सम्बन्ध छैन

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध र सम्पर्क नभएको बताएका छन् । उनले केही सञ्चार माध्यममा आफ्नो नाम जोडिएर समाचार प्रकाशित भएको उल्लेख गर्दै सापकोटासँग कुनै सम्बन्ध नभएको बताएका हुन् । 

प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा घटनासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

समाचारमा उल्लेखित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष चिनजान र सम्पर्कसमेत नरहेको उनको भनाइ छ । ती व्यक्तिहरूलाई आफूले कहीँकतै नभेटेको पनि उनले बताएका छन् ।

‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहीँकतै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीश शर्माले जनतामा भ्रम फैलाउने दूषित उद्देश्यले समाचार प्रसारण गरिएको आरोपसमेत लगाएका छन् ।

‘यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ उनले भनेका छन् ।

null

Share News