काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका प्रमुख होटलहरूमा भौतिक क्षमता विस्तार भए तापनि होटलहरूको व्यापार, पर्यटक आगमन र प्रत्यक्ष रोजगारीमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार समीक्षा वर्षमा नमुना छनोटमा परेका १२ वटा प्रमुख होटलहरूमा कुल शैया (बेड) संख्या ५.७६ प्रतिशतले बढेर ९१८ पुगेको छ । क्षमता अभिवृद्धिका बाबजुद बिक्री भएका शैया संख्या भने ३.१९ प्रतिशतले घट्दै ९९ हजार ३ सय ८९ मा सीमित हुन पुगेको प्रतिवेदनले देखाएको छ ।
यस अवधिमा भारत, चीन तथा तेस्रो मुलुकबाट ती होटलहरूमा आएका कुल पर्यटकको संख्या ५४ हजार ६ सय ७७ रहेको छ । सो आधारमा समीक्षा वर्षमा लुम्बिनीका होटलहरूको समग्र अकुपेन्सी दर २९.६६ प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो आव २०८१/८२ को तुलनामा समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा ८.६१ प्रतिशत र अकुपेन्सी दरमा ८.४७ प्रतिशतले कमी आएको छ । पर्यटन क्षेत्रमा देखिएको यो सुस्ततामा घरेलु तथा अन्तर्राष्ट्रिय परिस्थिति मुख्य जिम्मेवार रहेको प्रतिवेदनमा औंल्याएको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालमा भएको जेन्जी आन्दोलनका साथै मध्यपूर्वी क्षेत्रमा चर्किएको भूराजनीतिक द्वन्द्व र अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटकको आवतजावत प्रभावित हुन पुगेको हो ।
व्यापार र आगमनमा आएको सुस्तताको सोझो प्रभाव होटल क्षेत्रको रोजगारीमा समेत परेको छ । क्षमता विस्तार भए पनि कारोबार खस्किएपछि होटल क्षेत्रमा प्रत्यक्ष रोजगारी ५.८४ प्रतिशतले घटेर ७४२ जनामा सीमित भएको छ ।
सहरी तथा सुविधासम्पन्न होटल व्यवसाय चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला प्रदेशको ग्रामीण पर्यटन र सामुदायिक होमस्टेले भने आशाजनक चित्र प्रस्तुत गरेका छन् ।
स्थानीय संस्कृति, आतिथ्यता र प्राकृतिक सौन्दर्यका कारण ग्रामीण क्षेत्रमा पाहुनाको आकर्षण बढेको देखिन्छ । पाल्पाको पूर्वखोला-२, जल्पास्थित ढोलीमारा सामुदायिक होमस्टेले समीक्षा वर्षमा मात्रै करिब २ हजार पाँच सय पाहुनालाई आतिथ्यता प्रदान गर्दै २० लाख आम्दानी गर्न सफल भएको छ । यसले समग्र पर्यटन उद्योग सुस्ताएका बेला पनि सामुदायिक तथा ग्रामीण पर्यटनले प्रदेशको अर्थतन्त्रमा सकारात्मक र दिगो योगदान पु¥याउन सक्ने दरिलो सम्भावना देखाएको छ ।