पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, उडानलाई अन्य विमानस्थलमा मोड्नुपर्ने र रद्द गर्नुपर्ने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो । प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ । विमानस्थलको भौगोलिक अवस्था, आसपासका पहाडी भू–बनोट तथा प्राविधिक सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यता भएका बेला उडान सञ्चालनमा चुनौती हुने गरेको छ ।

यस्तो समस्या समाधान गर्न प्राधिकरणले उपग्रहमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणालीको विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ । आरएनपी–एआर प्रणाली लागू गर्न विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति लिनुपर्नेछ ।

यी प्रक्रिया पूरा भएपछि कम दृश्यता भएका अवस्थामा पनि विमान अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ । प्रणाली कार्यान्वयनमा आएमा प्रतिकूल मौसमका कारण उडान अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण गर्न नसकेर पुनः प्रयास गर्नुपर्ने र उडान रद्द गर्नुपर्ने अवस्थामा कमी आउने विश्वास गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ्नु हवाई सेवालाई सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

मन्त्री पौडेलका अनुसार यस प्रणालीले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई थप सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउने जनाएको छ । 

Share News