काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको राजनीतिक अस्थिरता, कमजोर बन्दै गएको आर्थिक तथा सामाजिक अवस्था र प्राकृतिक विपद्बाट नागरिकले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार जारी सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना दिँदै विपद्बाट प्रभावित नागरिकको पीडालाई साझा राष्ट्रिय समस्याका रूपमा लिनुपर्ने बताएका हुन् ।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा निरन्तरको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै पूर्वराजा शाहले दुःख र निराशालाई आशा तथा शक्तिमा रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले नागरिकको पीडा नै राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र नेपालीको हितमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन् ।
विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण तथा प्रभावित परिवारको तत्काल पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ । साथै, पुनर्निर्माण र राहतका लागि बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान, मौलिकता र स्थानीय परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन् ।
पूर्वराजा शाहको सन्देशमा विपद्को सामना, नागरिकको पीडा न्यूनीकरण र राष्ट्रिय हितको संरक्षणलाई विशेष महत्त्व दिइएको छ ।