काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलेर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा थप रकम असुली श्रमिकलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११, महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले मलेसियामा वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा सरकारले तोकेको शुल्कबाहेक म्याक्रोटेक प्रालिका नाममा ‘बायोमेडिकल सेवा शुल्क’ शीर्षक राखेर अतिरिक्त रकम असुल्दै आएका थिए ।
गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर संगठित रूपमा रकम संकलन गरी श्रमिकलाई आर्थिक नोक्सानी पुर्याइ आर्थिक लाभ लिएको आरोप उनीहरूमाथि छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट प्राप्त पत्र तथा विकास रानाभाटसहितले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
उनीहरूविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले यस घटनाबाट पीडित भएका अन्य श्रमिकलाई समेत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।
सम्बन्धित पीडितलाई यथाशीघ्र ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दरखास्त पेस गर्न अनुरोध गरिएको हो ।