७ स्थानीय तह हुँदै ४७ किलोमिटर प्रसारण लाइन बनाउँदै प्राधिकरण

काठमाडौं । धादिङ र नुवाकोटका सात स्थानीय तहलाई समेटेर निर्माण भइरहेको बोराङ-नौबिसे (रातमाटे) २२०/१३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार धादिङका रुवी भ्याली, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिका तथा नीलकण्ठ नगरपालिका र नुवाकोटका तारकेश्वर गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका विभिन्न वडा आयोजना प्रभावित क्षेत्रमा समेटिएका छन् ।

निर्माणाधीन आयोजनाको कुल लम्बाइ ४७.३४ किलोमिटर छ । यसअन्तर्गत बोराङ सबस्टेसनदेखि लापाङ सबस्टेसनसम्म २२.९६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन र लापाङ सबस्टेसनदेखि रातमाटे सबस्टेसनसम्म २४.३८ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण हुनेछ ।

रुवी भ्याली गाउँपालिका-४, बोराङमा रहेको निर्माणाधीन सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन लापाङ हुँदै रातमाटे सबस्टेसनसम्म पुग्नेछ । आयोजनाका मुख्य संरचनामा बोराङ र लापाङ सबस्टेसन तथा १४५ वटा टावर रहनेछन् ।

प्राधिकरणका अनुसार २२० केभी प्रसारण लाइनका लागि दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर र १३२ केभी प्रसारण लाइनका लागि दायाँबायाँ नौ/नौ मिटर गरी १८ मिटर चौडाइको विद्युत् मार्गको अधिकार क्षेत्र आवश्यक पर्नेछ । आयोजना निर्माणका लागि स्थायी संरचना र प्रसारण लाइनको अधिकार क्षेत्रसमेत गरी करिब ११२.२३ हेक्टर जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

आयोजना क्षेत्रको प्राकृतिक वातावरण तथा स्थानीयको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा पर्न सक्ने प्रभाव पहिचान गर्न प्राधिकरणले सार्वजनिक रूपमा रायसुझाव मागेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा अन्य सरोकारवाला व्यक्ति र संस्थालाई सात दिनभित्र लिखित सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रसारण लाइन र त्यसका संरचनाले स्थानीय भौतिक तथा जैविक प्रणाली, सामाजिक जीवन, संस्कृति र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ । प्राप्त रायसुझावलाई वातावरणीय परीक्षणको अध्ययन प्रक्रियामा समेट्ने उद्देश्यले प्राधिकरणले सरोकारवालाको सहभागिता मागेको हो ।

आयोजना प्रभावित क्षेत्रमा धादिङको रुवी भ्याली गाउँपालिका-४, खनियाबास गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५, त्रिपुरासुन्दरी गाउँपालिका-७, नेत्रावती डबजोङ गाउँपालिकाका वडा नं. १, ४ र ५ तथा नीलकण्ठ नगरपालिकाका वडा नं. १, १३ र १४ रहेका छन् । त्यस्तै, नुवाकोटको तारकेश्वर गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा बेलकोटगढी नगरपालिकाको वडा नं. ७ पनि प्रभावित क्षेत्रमा समेटिएका छन् ।

Share News