काठमाडौं । गत भदौ १० को रसुवा बाढीले अर्थतन्त्रमा ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्र विकासको सम्भावना’ विषयक छलफल कार्यक्रममा अर्थशास्त्री निश्चल खनालले महासंघले गरेको सर्वेक्षणको तथ्यांक सुनाउँदै उनले बाढीबाट सो रकम क्षति भएको बताएका हुन् ।
उनका अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबर हो ।
बाढीले जलविद्युत् आयोजना, प्रसारण प्रणाली र हजारौं व्यवसायमा क्षति पुर्याउँदा अर्थतन्त्रमा थप दबाब परेको उनको प्रस्तुतिमा उल्लेख छ ।
जलवायुजन्य विपद्ले अर्थतन्त्रमा ठूलो क्षति पुर्याइरहेका बेला नेपालमा युवालाई पर्याप्त रोजगारी दिन नसक्नु र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निर्भरता बढ्नु अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।
बाढीबाट जलविद्युत् आयोजना तथा प्रसारण प्रणालीतर्फ १ खर्ब ५१ अर्ब रुपैयाँ र करिब ४ हजार ८ सय व्यवसायमा १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । बाढीबाट ७५९ मेगावाट जलविद्युत् उत्पादन क्षमतामा क्षति पुगेको उल्लेख छ ।
सर्वेक्षणअनुसार विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।
क्षति र पुनःनिर्माण आवश्यकताबीचको ठूलो अन्तरले विपद्पछिको पुनरुत्थानका लागि वित्तीय स्रोत जुटाउनु चुनौतीपूर्ण रहेको खनालले बताए ।
सर्वेक्षणले नेपालको आर्थिक चुनौतीलाई प्राकृतिक विपदमा मात्र सीमित गरेको छैन । युवालाई देशभित्र रोजगारी र सीप विकासको अवसर उपलब्ध गराउन नसक्नु पनि गम्भीर समस्या रहेको उल्लेख गरेको छ ।
प्रस्तुतिमा उल्लेखित तथ्याङ्कअनुसार, ३० प्रतिशतभन्दा बढी युवा रोजगारी, अध्ययन वा तालिममध्ये कुनैमा पनि संलग्न छैनन् । सन् २०२५ को बेरोजगारी दर १०.५ प्रतिशत रहेको उल्लेख छ । यस्तो अवस्थाले देशको श्रमशक्तिलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसकिएको र युवाको आर्थिक सम्भावना खुम्चिएको संकेत गर्छ ।
युवाका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीप्रतिको आकर्षण पनि उच्च छ । प्रस्तुतिमा एक महिनामा ४२ हजार ६९३ नयाँ वैदेशिक रोजगार अनुमति जारी भएको तथ्याङ्क राखिएको छ ।
जीडीपीको ३३ प्रतिशत विप्रेषण
नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान ठूलो छ । खनालले आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति जीडीपी १ हजार ५१३ अमेरिकी डलर रहेको र कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा ३३ प्रतिशत रहेको उल्लेख गरे ।
विप्रेषणले नेपाली परिवारको आम्दानी, उपभोग र विदेशी मुद्रा आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेले पनि अर्थतन्त्रको ठूलो हिस्सा विदेशमा काम गर्ने नेपालीले पठाउने रकममा निर्भर रहनुले स्वदेशमै उत्पादन र रोजगारी विस्तार गर्नुपर्ने चुनौती देखाउँछ । विप्रेषणलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सके आर्थिक गतिविधि बढाउन सहयोग पुग्न सक्छ ।
निजी क्षेत्रको लगानी र पुनःनिर्माणको अवसर
बाढीबाट जलविद्युत् र व्यवसाय क्षेत्रमा पुगेको क्षति तथा युवाको कमजोर रोजगारी अवस्थाले निजी क्षेत्रको विकासलाई आर्थिक पुनरुत्थानसँग जोड्नुपर्ने देखाउँछ ।
विपद्पछिको पुनर्निर्माणलाई भौतिक संरचना पुनःस्थापनामा मात्र सीमित नराखी उत्पादन, ऊर्जा, व्यवसाय विस्तार र रोजगारी सिर्जनासँग जोड्न सके त्यसले अर्थतन्त्रलाई गति दिन सक्छ ।
यसका लागि लगानीमैत्री वातावरण, निजी क्षेत्रको विश्वास, व्यवसाय सञ्चालनमा सहजता र युवाको सीपअनुसार रोजगारी सिर्जना महत्त्वपूर्ण हुन्छन् ।
विपद्को जोखिम न्यूनीकरण गर्दै पुनर्निर्माणमा लगानी बढाउनु पनि दीर्घकालीन आर्थिक स्थायित्वका लागि आवश्यक रहेको उनले बताए ।