सबै दल असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिन सक्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उनको भनाइ छ।

उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको बताए। पार्टीको आगामी महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्नेमा पनि उनले जोड दिए।

मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ। त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई आग्रहसमेत गरे।

पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै उनले सबैका लागि ढोका खुला गर्नुपर्ने बताए। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेन्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ। अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्। सबैजसो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका छन्। यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो।' 

आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ।

Share News