बैंकिङ कसूरमा दोषी ठहरिएका लक्ष्मण थोकर पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका लक्ष्मण थोकर पक्राउ परेका छन् ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७, महाबौद्धबाट मंगलबार (आज) पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले असोज २ गते दक्षिणकाली नगरपालिका–६ का ४२ वर्षीय थोकरलाई बैंकिङ कसूर मुद्दामा १ करोड ३ लाख रुपैयाँ बिगो, बिगोको ५ प्रतिशत जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

पुष्पाञ्जली लक्की निर्माण सेवाका सञ्चालकसमेत रहेका थोकर फैसला कार्यान्वयन नगरी फरार रहेका थिए । 

उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो । सोही क्रममा उनी पक्राउ परेका छन् ।

पक्राउ परेका थोकरलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Share News