‘घरमै बसेर लाखौं कमाउने’ भन्दै ठगी, प्रहरीले गर्यो यस्तो आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट नेटवर्किङ व्यवसाय, रोजगारी र आकर्षक आम्दानीको प्रलोभन देखाएर ठगी हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

सीआईबीले पिरामिडमा आधारित नेटवर्किङ व्यवसायका नाममा सदस्य बन्न प्रस्ताव तथा विज्ञापन गर्ने, नयाँ सदस्य थपेबापत आर्थिक लाभ दिने र विभिन्न बहानामा रकम सङ्कलन गर्ने गतिविधिप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

सीआईबीका अनुसार पछिल्लो समय नयाँ सदस्य थपेबापत आर्थिक लाभ दिने, पार्सल पठाएको दस्तुर तथा चिठ्ठा परेको भन्दै कर तिराउनेजस्ता बहानामा बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीमार्फत रकम सङ्कलन तथा लगानी गर्न लगाउने प्रवृत्ति देखिन्छ । 

त्यसैले कुनै पनि व्यवसायमा लगानी गर्नुअघि कम्पनी कानुनी रूपमा दर्ता भएको र आवश्यक इजाजतपत्र प्राप्त गरेको छ कि छैन जाँच गर्न आवश्यक रहेको सीआईबीले जनाएको छ ।

यस्तै, वस्तुको वास्तविक मूल्य र बजार मूल्य तुलना गर्न तथा सदस्य बन्दा शुल्क तिर्नुपर्ने व्यवस्था छ कि छैन भन्ने विषयमा पनि यकिन गर्न सीआईबीको आग्रह छ । 

पार्सल पठाएको वा चिठ्ठा परेको नाममा हुने ठगीबाट समेत सचेत रहन सीआईबीले अनुरोध गरेको छ ।

त्यसैगरी, सीआईबीले ‘छिटो र धेरै नाफा’ कमाउने प्रलोभनमा नपर्न तथा आम्दानीको स्रोत स्पष्ट रूपमा बुझ्न आग्रह गरेको छ । साथै ई–सेवा तथा बैंक खाता अपडेट गर्ने बहानामा ओटीपी माग्ने वा शंकास्पद लिंक पठाउने गतिविधिबाट समेत जोगिनुपर्ने जनाएको छ ।

त्यसैगरी आकर्षक तलब, घरमै बसेर आम्दानी, अनलाइन तथा आईटीसम्बन्धी रोजगारी र विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई सम्पर्कमा ल्याउने, रकम तथा व्यक्तिगत विवरण सङ्कलन गर्ने गतिविधिप्रति पनि सीआईबीले सचेत गराएको छ ।

विदेशमा रोजगारी तथा प्रशिक्षणको प्रलोभन देखाएर नेपाली नागरिकलाई छिमेकी मुलुकसम्म पुयाई कागजात र मोबाइल जफत गर्ने, बन्धक बनाउने, शारीरिक तथा मानसिक दबाब दिने र जबर्जस्ती लामो समयसम्म अनलाइन स्क्यामिङमा लगाउने जोखिमसमेत रहेको सीआईबीले जनाएको छ ।

सीआईबीले कुनै पनि निर्णय गर्नुअघि पर्याप्त जानकारी लिन र कागजात तथा प्रमाण सुरक्षित राख्न आग्रह गरेको छ । हतारमा निर्णय नगर्न र दबाबमा परेर लगानी नगर्न पनि सुझाव दिएको छ ।

‘सचेत नागरिक बनौं’, प्रलोभनमा नपरौं, प्रमाण नहेरी पैसा नहालौं, आफू पनि जोगिऔं, अरूलाई पनि जोगाऔं’ भन्ने सन्देशसहित प्रहरीले यस्तो आग्रह गरेको हो ।

आफू ठगिएको शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सूचना वा उजुरी दिन सकिने सीआईबीले जनाएको छ । 

Share News