६८ हजार युवालाई निःशुल्क एआई तालिम दिने सरकारको घोषणा

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निःशुल्क एआई तालिमप्रति युवाहरूको आकर्षण देखिएको छ । 

मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक उक्त तालिमका लागि ६८ हजारभन्दा बढी युवाहरूले आवेदन दिएका छन् । 

सुरुमा दुई हजार युवालाई मात्र लक्षित गरेर योजना तयार पारिएको भए पनि अपेक्षाभन्दा निकै धेरै आवेदन प्राप्त भएपछि मन्त्रालयले रणनीति परिवर्तन गरेको जनाएको छ । 

अब आवेदन फाराम भरेका सबै आकांक्षी युवाहरूलाई तालिममा सहभागी गराउने निर्णय मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार यस कदमले प्रविधिको क्षेत्रमा उत्सुक र इच्छुक युवाहरूलाई ठूलो राहत र अवसर मिल्नेछ ।

तालिम सञ्चालन र सहभागी हुने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले विशेष प्रविधिको प्रयोग गर्ने भएको छ । जसअनुसार तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि आवेदकहरूको मोबाइलमा एसएमएसमार्फत जुम वा अनलाइन लिङ्क पठाइनेछ । 

आवेदकहरूले उक्त लिङ्कमा प्रवेश गरी आफ्नो नाम र मोबाइल नम्बरको आधारमा, आवेदन दिँदा रोजेको सत्रअनुसार सहजै तालिममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ ।

Share News