एमालेमा पुनर्गठन प्रतिवेदन अन्तिम चरणमा, दिउँसो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकले निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि प्रस्तावित विषयलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

कार्यदलको बैठकपछि प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उक्त प्रतिवेदनमाथि पार्टी सचिवालयमा छलफल गरी अनुमोदन गर्ने र आगामी केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी एमालेको छ ।

यसैबीच, एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।

सचिवालय बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा पनि छलफल हुने सम्भावना छ । कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि त्यसका सुझाव र प्रस्तावलाई सचिवालयले आवश्यक छलफलसहित अन्तिम रूप दिने तयारी गरेको छ ।

निर्वाचनपछि एमालेले पार्टीको संगठनात्मक अवस्था, निर्वाचन परिणाम र आगामी राजनीतिक भूमिकाको समीक्षा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले संगठनको पुनर्संरचना, पार्टी सञ्चालनका कमजोरी तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा केन्द्रित भएर सुझाव तयार पारिरहेको छ ।

यसै क्रममा अध्यक्ष ओलीको निर्देशनमा कार्यदलका सदस्य नरहेका नेता प्रदीप ज्ञवालीले पनि पार्टी पुनर्गठनसम्बन्धी छुट्टै प्रस्ताव तयार पारेका छन् । उक्त प्रस्तावलाई समेत कार्यदलको छलफलमा समेटेर प्रतिवेदनलाई निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ ।

अब कार्यदलको प्रतिवेदन, सचिवालयको छलफल र केन्द्रीय कमिटीको निर्णयबाट एमालेको आगामी संगठनात्मक पुनर्गठनको खाका तय हुने भएको छ । असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकलाई त्यसैकारण पार्टीको आगामी संगठनात्मक दिशा निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

Share News