काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले भदौ २ गते शुक्रबारदेखि २ हजार ६० रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो ।
संघले यसअघि भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ढुवानी भाडाबापत १०५ रुपैयाँ ३५ पैसा थप गरी कुल २ हजार १६५ रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न अनुरोध गरेको थियो ।
त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री–वितरण गर्दै आएका थिए ।
तर, हाल सडक सञ्चालनमा आएसँगै संघका अध्यक्ष दिवान चन्दले आफ्ना विक्रेताहरूलाई सोही अनुसार जानकारी गराई साविककै मूल्यमा ग्यास बिक्री गर्न अनुरोध गरेका हुन् ।