कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसको विभिन्न तहको अधिवेशनमा उम्मेदवार बन्ने नेताले पदअनुसार फरक–फरक शुल्क बुझाउनुपर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ ले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरेको हो । 

निर्देशिकाअनुसार केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवारले ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ । सभापतिका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यी पदका उम्मेदवारलाई सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ । 

त्यस्तै, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । सहमहामन्त्रीका उम्मेदवारका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थकको व्यवस्था गरिएको छ ।

कांग्रेसले प्रदेश तहका पदमा पनि उम्मेदवारी शुल्क तोकेको छ । निर्देशिकाअनुसार प्रदेश कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि ४ हजार, सहमहामन्त्रीका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि भने ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

स्थानीय तहमा उम्मेदवारी शुल्क तुलनात्मक रूपमा कम राखिएको छ । महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, नगरपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

गाउँपालिका कार्यसमितिमा सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५०० र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

वडा कार्यसमितितर्फ सभापतिका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क लाग्नेछ । उपसभापति, सचिव र सहसचिव पदका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो । निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिसम्मका विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक योग्यता, प्रस्तावक-समर्थकको संख्या तथा उम्मेदवारी दर्तासम्बन्धी व्यवस्था समेटिएको छ ।

निर्वाचन समितिले तयार पारेको निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ । 

Share News