काठमाडौं । काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई बुझाएको छ ।
मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ५० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै उनले आगामी दिनमा आफ्नो सवारीसाधनमा सम्भव भएसम्म जीपीएस प्रणाली जडान गर्न आग्रह गरे । उनले जीपीएस प्रणाली जडान गरिएको खण्डमा बाइक ट्र्याक गरी खोजी गर्न सहज हुने बताए ।
उनले भने, ‘अस्ति २८ भदौ राति करिब १ बजे एउटा बाइक हराएको थियो । हामीले त्यो बाइक केही घण्टामै खोजेर ल्याउन सफल भएका छौँ । चोरलाई पनि सँगै समातेका छौँ । उहाँले त्यो बाइकमा एउटा सानो जीपीएस राखिदिनुभएको हुनाले त्यो बाइक खोज्न सहज भएको हो ।’
प्रहरी वरिष्ठ उपरीक्षक काफ्ले सुरक्षित स्थानमा बाइक पार्क गर्न पनि सबैमा आग्रह गरे ।