रसुवा नाका बन्द, तातोपानीबाट चीन जाने पर्यटक बढ्दै

चीन गएका यात्रुहरू हिल्सा र तातोपानी नाकाबाट नेपाल फर्कदै

काठमाडौं । रसुवा नाका प्रभावित भएपछि पर्यटक तथा यात्रुले कोदारी (तातोपानी) र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका छन् । 

भदौँ १० गते रसुवामा आएको बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयमा क्षति पुगेपछि यी नाका हुँदै आवतजावत गर्ने पर्यटकले  अन्य नाकाको प्रयोग गर्न थालेका हुन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका ३ हजार ९०४ पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन विभागले जनाएको छ । १ हजार ७३३ जना महिला र २ हजार १७१ पुरुष भित्रिएका छन् ।

३ सय ९१ जना पर्यटक तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए ।

यसैगरी, हिल्सा नाका हुँदै ३ सय ८७ जना  नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका थिए ।

विभागका अनुसार हिल्सा नाका हुँदै जम्मा १७८ यात्रु चीनतर्फ प्रस्थान गएका छन्। दुवै नाकाबाट आवागमन गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन्।

रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन हुन थालेको छ । रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको ढकालले बताए ।

अध्यागमन विभागले पर्यटक तथा यात्रुका सहजै आवागमन गर्न अध्यागमन विभागले व्यवस्थापन गरिरहेको छ । यात्रुका सहजता लागि प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको विभागले जनाएको छ ।

Share News