काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा पौडेलले आफ्नो पदीय जिम्मेवारीअनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागी अनावश्यक दुःख हैरानी दिएको र काममा आलटाल गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारले पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको जनाएको छ ।
आयोगले १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको छ । मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।