साउदीका सैन्य विमानले यमनमा हवाई हमला गरेको हुथीको दाबी

काठमाडौं । हुथी विद्रोही समूहको टेलिभिजन समाचार च्यानल अल-मसीराले साउदी अरबका सैन्य विमानले यमनको ताइज क्षेत्रमा हवाई हमला गरेको दाबी गरेको छ ।

इरान समर्थित हुथी समूहले पछिल्ला दिनमा सरकारी सेनाविरुद्ध सैन्य रूपमा आफ्नो प्रभाव बढाएको यही ताइज क्षेत्र हो ।

अल-मसीराका अनुसार साउदी सैन्य विमानले उत्तरी यमनमा हुथीहरूको प्रमुख गढ सादामा पनि विभिन्न स्थानलाई लक्षित गरी हवाई हमला गरेका छन् ।

यसअघि हुथी सैन्य प्रवक्ताले समूहले दक्षिणी साउदी अरबमा रहेको एउटा सैन्य अड्डालाई क्षेप्यास्त्र र ड्रोनबाट निशाना बनाएको दाबी गरेका थिए । यद्यपि, उक्त दाबीको पनि स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

यसैबीच, साउदी अरबका तेल व्यवसायी तथा सेयरधनीहरूले देशको प्रमुख ईस्ट-वेस्ट तेल पाइपलाइन तत्काल पुनः सञ्चालन नगरिए विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पर्न सक्ने चेतावनी दिएका छन् ।

उनीहरूका अनुसार साउदी अरबले केही दिनभित्र उक्त पाइपलाइन सञ्चालनमा ल्याउन नसके विश्वको कुल तेल आपूर्तिमा करिब ४ प्रतिशतसम्म कमी आउन सक्छ ।

साउदी अरबको ईस्ट-वेस्ट तेल पाइपलाइनमा हालै ड्रोन हमला भएको थियो। ती ड्रोन इराकी क्षेत्रबाट आएको बताइएको छ ।

इराकले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको थियो। त्यसपछि साउदी अरबले पनि इराकको अनुसन्धानलाई समर्थन गर्दै तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ ।

Share News