ब्रिक्सलाई नयाँ दिशा दिन सी जिनपिङको पाँचसूत्रीय प्रस्ताव

फाइल तस्बिर ।

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आगामी वर्ष ब्रिक्सको अध्यक्षता सम्हाल्नुअघि संगठनको आर्थिक तथा प्राविधिक सहकार्यलाई नयाँ दिशा दिने रोडम्याप प्रस्तुत गरेका छन् ।

नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित १८औं ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारीको प्रस्ताव गरेका हुन् ।

यससम्बन्धी जानकारी चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले एक्समार्फत दिएकी हुन् ।

पोस्टका अनुसार प्रस्तावमा ब्रिक्स सदस्य राष्ट्रबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्यलाई प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ ।

उनले चीनले आगामी वर्ष ब्रिक्स सेवा व्यापार मञ्च आयोजना गर्ने घोषणा पनि गरेका छन् । उक्त मञ्चमार्फत आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ क्षेत्रलाई अघि बढाउने लक्ष्य राखिएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङले आफ्नो सम्बोधनमा कुल पाँचवटा पहलको उल्लेख गरेका छन् ।

त्यसमध्ये खुला स्रोत र समावेशी कृत्रिम बाैद्धिकता (एआई) पहल पनि रहेको छ । यसअन्तर्गत चीनले ब्रिक्स एआई खुला स्रोत समुदाय स्थापना गर्न अग्रणी भूमिका खेल्नेछ ।

डिजिटल क्षेत्रमा चीनले ब्रिक्स डिजिटल इकोसिस्टम क्लाउड प्लेटफर्म स्थापना गर्ने प्रस्ताव अघि सारेको छ ।

त्यस्तै, विनिर्माण क्षेत्रमा चीनले स्मार्ट उत्पादन सहकार्यको प्रस्ताव गरेको छ । यसअन्तर्गत ब्रिक्स सदस्य राष्ट्रलाई स्मार्ट कारखाना निर्माण गर्न तथा यस क्षेत्रका मापदण्ड निर्धारण गर्न चीनले सहयोग गर्नेछ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले ब्रिक्स इन्जिनियर गठबन्धन स्थापना गर्नुका साथै युवाका लागि नवप्रवर्तन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसको उद्देश्य दक्ष तथा प्रतिभाशाली जनशक्ति तयार गर्नु रहेको बताइएको छ ।

Share News