काठमाडौं । यमनका हूती विद्रोहीहरूले दक्षिणी साउदी अरबमा रहेको एक सैन्य अखडालाई ब्यालिस्टिक मिसाइल र ड्रोनबाट निशाना बनाएको दाबी गरेका छन् ।
बीबीसी फारसीका अनुसार हूतीका सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
याह्या सरीका अनुसार दक्षिणी साउदी अरबस्थित शरूरा सैन्य अखडालाई लक्षित गरी हमला गरिएको हो ।
उनका अनुसार हमलामा साउदी अरबका हतियार भण्डार तथा कमान्ड एन्ड कन्ट्रोल केन्द्रहरूलाई निशाना बनाइएको थियो ।
यद्यपि, हूती प्रवक्ताले हमला कहिले गरिएको हो भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन् ।
उनले साउदी अरबलाई चेतावनी दिँदै यमनविरुद्ध सैन्य कारबाही जारी राखिए हूतीले साउदी भूभागभित्रै ठूला हमला गर्न सक्ने बताएका छन् ।
यसैबीच, एक्सियोसको एक रिपोर्टमा साउदी युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हूती विद्रोहीविरुद्ध सैन्य कारबाही गर्न आग्रह गरेको दाबी गरिएको छ ।
तर, रिपोर्टका अनुसार ट्रम्पले उक्त आग्रह अस्वीकार गरेका थिए ।