काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् ।
ब्रिक्समा उनीहरूको आवाज सुनिने र अनुभवलाई महत्त्व दिइने भएकाले विश्वास बढेको उनको भनाइ छ ।
प्रधानमन्त्री मोदीले आइतबार भने, ‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ब्रिक्समा ग्लोबल साउथका देशहरूको विश्वास बढेको छ। किनकि ब्रिक्समा उनीहरूको आवाज सुनिन्छ, उनीहरूको अनुभवको सम्मान गरिन्छ र समाधान उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर तयार गरिन्छ ।’
मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताए । महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको उनको भनाइ थियो ।
उनका अनुसार कुनै एक स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्छ ।
यही सोचका साथ संक्रामक रोग फैलिनबाट रोक्न र त्यसको सामना गर्न ‘ब्रिक्स एकीकृत प्रारम्भिक चेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए ।
साथै विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी तथ्यांक एकीकरणसम्बन्धी मार्गनिर्देशन समेत तयार गरिएको उनले बताए ।
शिखर सम्मेलनको दोस्रो दिन नयाँदिल्लीस्थित भारत मण्डपमा सदस्य राष्ट्रका नेताहरूको सामूहिक तस्बिर खिचिएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीको एकातर्फ चीनका राष्ट्रपति सी जिनपिङ र अर्कोतर्फ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका थिए ।