काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।
वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ ।
डंगोलले विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् । करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ ।
काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिए ।
अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको बताइन् ।
ड्रगोलले मध्यरातमा समेत नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू सम्भावित विपद्का बेला फिल्डमा जानुपर्ने भएकाले स्ट्यान्डबाइमा बस्नुपर्ने अवस्था रहेको बताइन् ।
अभियानमार्फत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ ।
डंगोलले सहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने पनि बताइन् ।
पछिल्लो समय वर्षा भएपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।