काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेशकियानले सर्वोच्च नेता मोजतबा खामेनेई जीवित रहेको र आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताएका छन् ।
ब्रिक्समा सहभागी हुन भारत आएका पेजेशकियानले ‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा खामेनेईबारे धारणा राखेका हुन् ।
अन्तर्वार्ताका क्रममा पेजेशकियानलाई इरानका सर्वोच्च नेता मोजतबा खामेनेई कहाँ छन् र उनको अवस्था कस्तो छ भनेर सोधिएको थियो ।
जवाफमा पेजेशकियानले भने, ‘हाम्रा सर्वोच्च नेता जीवित हुनुहुन्छ र उहाँ पहिलेझैँ त्यही प्रणालीअन्तर्गत आफ्नो काम गरिरहनुभएको छ ।’
उनले शत्रुहरूले खामेनेईको वास्तविक स्थान पत्ता लगाउन नसकेका कारण विभिन्न अड्कलबाजी फैलाइएको दाबी गरे । उनका अनुसार शत्रुहरूले इरानका नयाँ सर्वोच्च नेतासँग पनि अघिल्ला सर्वोच्च नेतासँग गरेजस्तै व्यवहार गर्न खोजिरहेका छन् ।
पेजेशकियानले अमेरिका र इजरायलले एक व्यक्तिलाई लक्षित गर्दै उसको सम्पूर्ण परिवारको हत्या गर्ने र भवनसमेत ध्वस्त पार्ने गरेको आरोप लगाए । त्यसपछि उक्त व्यक्तिलाई आतंकवादी भएको दाबी गर्ने गरिएको उनको भनाइ थियो ।
उनले भने, ‘हामी जुन संसारमा बाँचिरहेका छौं, त्यसमा यो अपराध गर्ने नयाँ तरिका बनेको छ ।’
इरानका वर्तमान सर्वोच्च नेता मोजतबा खामेनेईले पद सम्हालेको करिब छ महिना भइसक्दा पनि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन् ।
यद्यपि, उनका लिखित सन्देशहरू सार्वजनिक हुँदै आएका छन्। साथै, इरानी अधिकारीहरूले पनि खामेनेई जीवित रहेको दाबी निरन्तर गर्दै आएका छन्।