काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ ।
नेकपा बहुमतले शनिबार माइतीघरमा प्रदर्शन गरेको हो । नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूले सरकारलाई व्यङ्ग्य गर्दै थालमा चामल राखेर प्रदर्शन गरेका थिए । उनीहरूले महँगी उच्च र ग्यास अभाव हुँदा पनि सरकार नदेखेको आरोप लगाएका छन् । जनताको समस्यामा दुई तिहाईको सरकार नै हराएको उनीहरूको आरोप छ ।
नेकपा बहुमतको अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले सरकारले तत्काल ग्यास आपूर्ति सहज नगरे पार्टीले ग्यास डिपोमा रहेका ग्यास आफैँ वितरण गर्ने चेतावनी दिए । उनले पर्याप्त ग्यास भए पनि सरकारले वितरण गर्न नसकेको आरोप लगाए ।
उनले डिलरमार्फत नियमित रूपमा ग्यास वितरणको व्यवस्था गर्न सरकारसँग माग गरे । उनका अनुसार आपूर्ति व्यवस्थापनका लागि सेना तथा प्रहरी परिचालन गरेर डिलरबाट ग्यास वितरण गर्ने वातावरण बनाउन आवश्यक छ ।
उनले ठूला होटलमा मौज्दात रहेको ग्याससमेत आवश्यकताअनुसार वितरण गर्नुपर्ने बताए । ग्यासको वितरणमा अनियमितता र कालोबजारी भएको आरोप लगाउँदै उनले त्यसको छानबिन गर्न पनि माग गरे ।
उनले सामान्य उपभोक्ता र साना व्यवसायीले ग्यास नपाउने तर ठूला होटलमा ग्यास उपलब्ध हुने अवस्था अन्त्य गर्नुपर्ने बताए । सरकारले तत्काल समस्या समाधान नगरे आफूहरू डिलरमा पुगेर जनताको सहभागितामा ग्यास वितरण अभियान सञ्चालन गर्ने उनले चेतावनी दिए । त्यसक्रममा गिरफ्तारी दिनुपरे पनि तयार रहेको उनको भनाइ छ । वर्तमान सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको आरोप छ ।
उनले भने, ‘सरकारले ग्यास अब अरू चार–पाँच दिनमा राम्रोसँग वितरण गरेन भने हामीले नै जनतालाई ग्यास बाँड्ने हाम्रो अभियान छ । हामी डिलरमा गएर आह्वान गर्छौँ, जनतालाई आउनुस् भनेर डिलरमा लुकाइएको ग्यास वितरण गर्छौँ, त्यसपछि के परिणाम हुन्छ, हेरौँला । अस्ति मात्रै ५३ हजार सिलिन्डर आएको छ, हिजो ४३ हजार आएको छ, त्यसले राम्रो व्यवस्थित गरेमा जति पनि पुग्छ । त्यस्तै होटलहरूमा राखिएको ७ हजारभन्दा बढी ग्यास बाँडे पनि पुग्छ । जनता खान नपाउने अवस्थामा पुगिसके, जनता उस्तै परे ग्यास नपाएर आत्महत्या गर्नुपर्ने स्थिति भइसकेको छ ।’
प्रदर्शनमा सहभागी नेकपा बहुमतका नेताहरूले ग्यासको सहज आपूर्ति, महँगी नियन्त्रण र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार’, ‘खै ग्यास, बालेनले लुकायो’, ‘खै बालेन, माफियाले डुबायो’, ‘दुई तिहाईको सरकार ओई, जनतालाई ग्यास खोई ?’, ‘भोको पेटले के भन्छ, भरि ग्यास दे भन्छ’, ‘बढ्दो महँगी नियन्त्रण गर ! ग्यासको आपूर्ति सहज गर !’, ‘गरिबको चमेली, ग्यास दिने कोही छैन’, ‘जनता ग्यास खोज्दै, सरकार बहाना खोज्दै’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।